पश्चिम सेती र पञ्चेश्वर निर्माणपछि समृद्धि आउँछः प्रधानमन्त्री


धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती र पञ्चेश्वरजस्ता विकासका योजनाको निर्माण पूरा भएपछि विकास र समृद्धि आउने बताएका छन् ।

बिहीबार धनगढीमा सुरु भएको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले पश्चिम सेती जलविद्युुत् परियोजना निर्माण गर्ने भारतीय कम्पनीले अनुमतिपत्र लिइसकेकाले छिट्टै आयोजनाको निर्माण पूरा हुने विश्वास व्यक्त गरे ।

उनले पश्चिम सेती, चमेलिया जलविद्युत् परियोजना, रानी जमरा कुलरिया, महाकाली सिँचाइ आयोजना र पञ्चेश्वरजस्ता योजनाको निर्माणलाई सरकारले प्राथमिकता दिएको बताए ।

पर्यटन तथा कृषिको विकासमार्फत आर्थिक समृद्धि गर्न सकिनेमा जोड दिँदै उनले विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

कोरोना महामारीले थला परेको उद्योग व्यवसायलाई माथि उठाउन सरकार गम्भीर रहेको भन्दै प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको कृषि तथा पर्यटन विकासका लागि महोत्सवले टेवा पुर्याउने बताए ।

यस क्षेत्रलाई आर्थिक केन्द्रकारुपमा विकास गर्नु आजको आवश्यकता रहेको उनको भनाइ छ । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले प्रदेशको विकासका लागि महोत्सवले टेवा पुर्याउने बताए ।

श्रम तथा रोजगार तथा समाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले उद्योग व्यवसायलाई सशक्त र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण भएको बताए ।

उनले अर्थतन्त्रमा पछिल्लो समय देखिएको समस्या समाधान गर्न सरकार गम्भीर भएर लागेको दाबी गरे । देशमा पुँजी परिचालन अपेक्षाअनुसार हुन नसक्दा समस्या भइरहेको उनको भनाइ थियो ।

समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि भन्ने नारासहित सुरु भएको महोत्सव पुस २ सम्म सञ्चालन हुनेछ । महोत्सवमा झण्डै चार सय व्यापारिक कक्ष राखिएको छ ।

सुदूरपश्चिम प्रदेशको कृषि, उद्योग, पर्यटन, कला संस्कृति र व्यापार व्यवसायको प्रवद्र्धन गर्ने उद्देश्यले २०६३ सालदेखि हरेक वर्ष सुदूरपश्चिम महोत्सवको आयोजना हुँदै आएको छ । महोत्सव कोरोना महामारीका कारण भने विगतमा दुई वर्ष हुन सकेको थिएन ।