सुनसरी । मतगणनाको सहज वातावरण नभएको भन्दै सुनसरीको क्षेत्र नम्बर ४ को मतगणना स्थगित गरिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गरी मतगणना स्थगित गरेको हो ।
साँझ ६ः१५ बजेदेखि गणना स्थगित गरिएको सूचनामा उल्लेख छ । विवाद र होहल्लाले सर्वदलीय बैठक बिथोलिएपछि मुख्य निर्वाचन अधिकृतले मतगणना गर्ने वातावरण नभएको भन्दै गणना नै स्थगित गरेका हुन् ।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उमेदवार रहेका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मतगणना गर्दा धाँधली भएको भन्दै मतगणना रोक्न माग गरेका थिए । त्यसपछि मुख्य निर्वाचन अधिृकतले सर्वदलीय बैठक बोलाएका थिए ।
तर, बैठकमा मन्त्री कार्की र नेकपा (एमाले)का कार्यकर्ताबीच विवादसँगै चर्काचर्की भएको थियो । एमालेका जिल्ला अध्यक्ष रेवतिरमण भण्डारी, केन्द्रीय सदस्य लक्ष्मी गौतम लगायतका नेता र मन्त्री कार्कीबीच बैठकमा चर्काचर्की भएको बताइएको छ ।
गणनामा धाँधली भएको भन्दै गणना भएको ६० हजार मत पुनः गणना हुनुपर्ने मन्त्री कार्कीले माग राखेका थिए । तर, एमालेका नेताहरुले गणना भएको ६० हजार मत कायम राख्ने बताएपछि चर्काचर्की भएको थियो । कार्यकर्ताबीच ठेलमठेल हुन थालेपछि प्रहरीले बैठक स्थलबाट उनीहरुलाई बाहिर निकालेको थियो ।

प्रतिक्रिया