मकवानपुर-१ मा कांग्रेस र -२ मा एमालेको अग्रता


हेटौंडा । मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता कायम राखेकी छन् ।

गणना भएको पाँच हजार ३० मतमध्ये सत्ता गठबन्धनका साझा उम्मेदवार उपाध्यायले दुई हजार ४७७ मत प्राप्त गरेकी छन् । उनलाई नेकपा (एमाले)का उम्मेदवार तथा राप्रपा नेपालका अध्यक्ष कमल थापाले एक हजार ६४३ मतसहित पछ्याइरहेका छन् ।

राप्रपा उम्मेदवार दीपक सिंहले तीन सय ७३ मत प्राप्त गरेका छन् । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ मा नेकपा (एमाले)का महेशकुमार बर्तौलाले अग्रता लिएका छन् ।

गणना भएको छ हजार ५१८ मतमध्ये बर्तौलाले दुई हजार ७३३ मत प्राप्त गरेका छन् । सत्ता गठबन्धनका साझा उम्मेदवार विरोध खतिवडाले दुई हजार ६८६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका भरत पराजुलीले पाँच सय ३४ मत प्राप्त गरेका छन् ।