गगन थापा मुलुकको प्रधानमन्त्री बन्नका लागि सक्षम हुनुहुन्छः स्वर्णिम वाग्ले


काठमाडौं । अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपाली काँग्रेसका महामन्त्री गगन थापा आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । शनिबार काठमाडौं क्षेत्र नम्बर ४ मा आयोजित कार्यक्रममा वाग्लेले मुलुकको प्रधानमन्त्री बन्नका लागि थापा सक्षम र तयार रहेको बताएका हुन् ।

उनले थापालाई प्रधानमन्त्री बनाउनका लागि जिताएर पठाउन पनि मतदातालाई आह्वान गरे । अर्थविद् वाग्लेले थापासँग प्रधानमन्त्री बन्ने भिजन र सोही अनुसारको आफूहरुजस्ता विज्ञहरुको टिम रहेकोसमेत बताए । थापाले कोभिड महामारीमा राजनेताको छवि बनाएको भन्दै उनलाई अगाडि बढाएर प्रधानमन्त्री बनाउन सके १० वर्ष भित्र मुलुकमा ठूलो परिवर्तन आउने विश्वाससमेत व्यक्त गरे ।

वाग्लेले थापाले ७ महिना स्वास्थ्यमन्त्री हुँदा मुलुकमा एकीकृत स्वास्थ्य नीतिको जग बसाएको र त्यसलाई कार्यान्वयन गरेर लैजाँदा हरेक नागरिकलाई बीमाको माध्यमबाट स्वास्थ्य उपचार पाउने अवस्था रहेको पनि बताए । थापा आन्दोलनबाट आएको नेता भएकाले थापाकै नेतृत्वमा मुलुकको अवस्थामा पनि परिवर्तन गर्न सकिने बताए ।

उनले भने, ‘नयाँ पुस्ताबाट नै ड्राइभ गर्ने खालको राजनीतिक प्रक्रियामा हामी गएका छौं र, मलाई लाग्छ–गगन थापा, जो आन्दोलनबाट खारिएका व्यक्ति हो । उहाँलाई मैले २०६२/०६३ देखि नै चिनेको हुँ । पछि उहाँ सांसद भएपछि संसदीय कृषि समितिमा, जलस्रोत सम्बन्धि समितिमा बसेर यो संसदको खास कामहरु भनेकै कमिटीहरुमा गर्ने हो ।  गगन थापालाई फेरि मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री नै बनाउन सकियो भने सामाजिक सुरक्षाको प्रत्याभुतिले मूर्त आकार लिन्छ भन्ने मलाई लाग्दछ । राजनेतामै आउने खालको झलक पनि उहाँले पछिल्ला दिनमा देखाउनुभएको छ । मलाई लाग्छ–त्यस्तो नेतालाई क्षेत्र नम्बर ४ ले जिताएर पठाइदियो भने तपाईहरुले तुरुन्तै आफ्नै निकट भविष्यमा नै प्रधानमन्त्री पाउनुहुनेछ ।’

.वाग्लेले मुलुक पछि पर्नुमा राजनीति नै जिम्मेवार रहेको उल्लेख गर्दै त्यसलाई सुधार गर्दै लैजान पनि नयाँ पुस्ताले त्यसको नेतृत्व लिनुको विकल्प नरहेको बताए ।