काठमाडौं । चलचित्र विकास वोर्डका अध्यक्ष भुवन केसीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीको प्रचारप्रसारमा सहभागी भएको भन्दै निर्वाचन आयोगले बिहीबार स्पष्टीकरण सोधेको हो ।
नवलपरासी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार चौधरीको निर्वाचन प्रचारप्रसारमा केसी सहभागी भएका थिए ।
निर्वाचन आचारसंहिता, २०७९ को दफा ७, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र त्यसमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरण विपरीतको काम गरेको भन्दै आयोगले केसीसँग स्पष्टीकरण सोधेको हो ।
आयोगको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘तपाईं चलचित्र विकास बोर्डको अध्यक्ष रहेको व्यक्तिले राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसार गर्नुभएको होइन भन्ने आधार प्रमाण के छ ? तपाईं राजनीतिक दलका उम्मेदवारको प्रचारप्रसारमा सहभागी हुनु भएको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ को खण्ड (क) र (ख) को विपरीत देखिएकोले तपाईंलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम कारबाही किन हुनु नपर्ने हो ?’

प्रतिक्रिया