देखावटी भनाभन गरेपनि भ्रष्टाचार गर्ने बेलामा ठूला दल सबै एक ठाउँमा उभिन्छन्ः अध्यक्ष लिङ्देन


गोरखा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले लोकतन्त्रको नाममा देशमा लुटतन्त्र मच्चिरहेको बताएका छन् ।

शनिबार गोरखामा आयोजति राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले वाइडबडी, ललितानिवासदेखि स्थानीय तहसम्म पुगेर लोकतन्त्रको नाममा भ्रष्टाचार मच्चाइरहेको बताएका हुन् ।

अध्यक्ष लिङ्देनले विभिन्न पार्टी भनेर देखावटी भनाभन गरेपनि भ्रष्टाचार गर्ने बेलामा सबै एक ठाउँमा उभिने परिपाटी ठूला भनिएका राजनीतिक दलहरुमा रहने गरेको बताए । उनले राजनीतिक दलहरुको मनोमानीका कारण समाज विभाजित भइरहेको र देशको एकता संकटमा परेको उल्लेख गरे ।

उनले नेकमा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालप्रति इंगित गर्दै अहिले ठूला भनिएका राजनीतिक दलहरुले जनताको लागि नभइ विदेशीहरुका लागि सरकार बनाउँछु भन्ने भाषण गर्दै हिँडेको बताए ।

उनले नेपालको संविधान कस्तो हुनुपर्छ भन्नेकुरा विदेशीहरुले भन्ने गरेको उल्लेख गरे । अध्यक्ष लिङदेनले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आमजनताको आकांक्षा पूरा गर्ने र देश बचाउने मौका भएको दाबी गरे ।