तातोपानी नाकाका व्यवसायी भन्छन् -हाम्रो ठाउँ त अब कर्णालीभन्दा पनि विकट हुन थाल्यो



रुपक पुरी, चौतारा । केही वर्षअघिसम्म सबेरैदेखि राति अबेरसम्म व्यस्त रहने कामीडोमा शेर्पाको दैनिकी अहिले बदलिएको छ । नेपाल–चीन सीमाछेउ तातोपानी बजारमा विगतमा व्यापार गरेर भ्याइनभ्याइ हुने होटल व्यवसायी शेर्पालाई अहिले एक कप चिया खान ग्राहक आइदिए पनि हुन्थ्यो भन्ने लाग्छ ।

चिया पसल हुँदै १२ वर्षदेखि तातोपानी गेष्टहाउस सञ्चालन गर्दै आकएकी शेर्पा घर बनाउन लिएको ऋण तिर्न हम्मे परेको बताउँछिन् । तातोपानी नाका सञ्चालन हुँदा हुने गरको व्यापारले लोभिएर आफ्नै घर बनाई सुरु गरेको होटल पाँच वर्ष राम्रो चलेको थियो ।

विसं २०७२ को भूकम्पपछि बन्द तातोपानी नाका खुल्ने छाँटकाँट नहुँदा उनलाई तातोपानीको घर ‘नखाऊ भने दिनभरिको सिकार, खाऊ भने कान्छा बाबुको अनुहार’ भनेजस्तै भएको छ ।

नाका बन्द भएसँगै अन्यत्र बस्ने ठाउँ हुनेहरू तातोपानी छाडेर हिँडेपछि विकल्प नहुनेमात्र अहिले तातोपानी छन् । नाका चल्यो भने गरी खान पाइएला नत्र अब छाक टार्नै मुस्किल पर्छ, शेर्पाले भनिन् ।

सीमाको करिब पाँच सय मिटर तल कोदारीमा विगतको जस्तै नाका खुल्ने आशमा चार परिवार बसिरहेका छन् । अन्यत्र जान ठाउँ छैन, यहाँ बस्न पनि त्रासबाहेक केही छैन, कोदारीमा भेटिएका पूर्णबहादुर श्रेष्ठले भने, “हाम्रो ठाउँ त अब कर्णालीभन्दा पनि विकट हुन थाल्यो ।”

असुरक्षा र असहजताका कारण तातोपानी नाकाबाट व्यापार गर्न छाडेका व्यवसायी सहज अवस्था आएमा पुनः व्यापारमा फर्कन इच्छुक छन् । तर व्यवसायमा निरन्तर आउने उतारचढावका कारण तातोपानी नाकाबाट हुने व्यापारमा सहजता आउनेमा उनीहरू विश्वस्त हुनसकेका छैनन् ।

लामो समय तातोपानी नाका हुँदै चिनियाँ सामानको कारोबार गरेर नाम र दाम दुवै कमाएका अधिकांश व्यापारीले व्यवसाय परिवर्तन गरेका छन् । तातोपानी नाकाबाटै सबै सहजता हुने हो भने आफूहरू व्यवसायमा फर्कन तयार रहेको अर्जुन सापकोटा बताउँछन् ।

सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष राजेन्द्रकुमार श्रेष्ठका अनुसार अहिले तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायीको सङ्ख्या ७० प्रतिशतले घटेको छ । व्यवसायीमात्र होइन, नाकाबाट हुने व्यापार पनि त्यही अनुपातमा घटेको श्रेष्ठ बताउँछन् ।

लामो समयदेखि तातोपानीको व्यापारबाट टाढिएका अमृत खड्का विगतको जस्तै सहज वातावरण निर्माण भएमा पुनः व्यापारमा फर्कन इच्छुक छन् । तर अझै उनले सोचेजस्तो सहज हुनसकेको छैन । तातोपानी नाका पुनः पहिलेझैँ चल्ने आशमा बसिरहेका व्यापारी, कन्टेनर र होटल व्यवसायी नाका ‘खण्डहर’ बनिदिँदा निराश भएको उनले बताए ।

प्रतिदिन सातदेखि आठ कन्टेनरबाट अधिकांश रोल रेडिमेड कपडाजस्ता सामग्री भित्रिरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख नारद गौतमले जानकारी दिए । कोरोनाकालअघि ५० कन्टेनर भित्रिएकामा अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड राजस्व उठाइएको थियो ।

“सीमित कन्टेनर भित्रिएर सामग्री आउने भएकाले राजस्व अझै वृद्धि हुनसकेको छैन । सडक अवरुद्घ भइरहने समस्या उस्तै छ”, उनले भने । तातोपानी नाकाले गत आर्थिक वर्षमा लक्ष्यको १८ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ ।

काठमाडौँबाट चीनको व्यापारिक क्षेत्र खासा एक सय २४ किलोमिटर र रसुवागढी एक सय ६४ किलोमिटरको दूरीमा पर्छ । केरुङभन्दा तातोपानी नाकाबाट सिगात्से ३० किलोमिटर कम दूरीमा छ । तर उत्तरी तातोपानी नाका भौतिक संरचनासँगै व्यापारिकरूपमा अव्यवस्थित बन्यो ।

भूकम्पको चार वर्षपछि मालवाहकरूपमा खुलाइएको नाका भोटेकोसी बाढीपहिराको अवरोधपछि खुले पनि पछिल्लो समय ताल फुट्ने हल्ला र कोभिडले खुम्च्याइदियो ।

बीस वर्ष अघिदेखि चल्दै आएका एक हजार चार सय मालवाहक कन्टेनर, दुई हजार आठ सय चालक र पाँच हजार मजदुर परिवार बेरोजगार भए । “नजिकैको दूरी भएकाले व्यापारी उत्तरी तातोपानी नाकाप्रति आकर्षित छन् । तर यस्तो समस्या बारम्बार व्यहोर्नुपर्दा निराश हुँदै छन् ।”

मुलुककै राजश्वमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने तातोपानी भन्सारबाट हुने कारोबार घटेपनि सम्बन्धित निकायले चासो नदिएको व्यापारीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
श्रीलङ्काका पूर्वराष्ट्रपति राजापाक्षद्वारा लुम्बिनी भ्रमण, उपाध्यक्ष लामाद्वारा भव्य स्वागत

  काठमाडौँ ।  श्रीलङ्काका पूर्वराष्ट्रपति गोटावाया राजापाक्षलाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ

नेपालको विकास र समृद्धिप्रति चीन खुसी छः चिनियाँ राजदूत चेन

काठमाडौँ ।  नेपालका लागि चीनका राजदूत चेन सङले नेपालको विकास र समृद्धि देखेर

लेबनानमा तैनाथ नेपाली शान्ति सैनिकलाई धैर्यताका साथ आफ्नो कर्तव्य निर्वाह गर्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ लेबनान र

त्रिभुवन विमानस्थल आसपासको क्षेत्रमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन,