नेपाल बारले चोलेन्द्रलाई सर्वोच्च प्रवेशमा रोक लगाउने


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा फर्कने भएपछि सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ । अहिले अदालत परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

चोलेन्द्रले आफू सर्वोच्च फर्कने भन्दै तयारी अघि बढाउन कामु रजिष्ट्रारलाई शनिबार नै सूचना दिएपछि आज बिहानैदेखि सर्वोच्च परिसरमा सुरक्षाकर्मी बढाइएको हो । तर, सर्वोच्च बार र नेपाल बार एसोसियसनले भने निलम्बित प्रधानन्यायाधीशको आगमनलाई रोक लगाउने बताएको छ ।

चोलेन्द्रलाई फर्काउने र नफर्काउने भन्नेबारे सर्वोच्च अदालतमै समूह छन् । यसअघि चोलेन्द्रलाई नमान्ने भन्दै सबै न्यायाधीशले नै बेन्च बहिस्कार गरेका थिए। यता नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले जबरालाई सर्वोच्च अदालतको नियमित काममा फर्कन नदिने बताएका छन्।

उनले जबरालाई गेटमै रोक्ने बताएका छन् । जबराको निलम्बन फुकुवा नभएको उनको भनाई छ । जबराले आफूमाथि छानबिन गरिरहेको संसद गएरातिदेखि सकिएको हुँदा महाअभियोग स्वतः निष्क्रिय भएकाले फर्किन लागेको सर्वोच्च प्रशासनलाई जानकारी गराएका छन् ।

आइतबार सत्तारुढ गठबन्धनबाट समितिमा रहेका ६ सदस्यको बहुमतले निर्णय गर्दै निलम्बित प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग सिफारिस गरेको हो। एमाले र लोसपाले भने फरक मत राखेका छन्।