हनुमानढोकामा यःसिं, ठड्याएसँगै सुरु भयो इन्द्रजात्रा


काठमाडौं । हनुमानढोकास्थित कालभैरवको मूर्ति अगाडि यःसिं ठड्याएसँगै आजबाट विधिवत् रुपमा येँयाः (इन्द्रजात्रा) सुरु भएको छ ।

भक्तपुरको यसिगुँबाट तानेर हनुमानढोका पुर्याइएको यःसिंलाई आज बिहान ९ बजेर १७ मिनेटको शुभ साइतमा इन्द्रध्वज फहराएर ठड्याइएको हो। त्यसअघि हनुमानढोकास्थित डबलीमा किलागलको दी प्याखं प्रस्तुत गरिएको थियो। मजिपा लाखे आजु, सवभक्कु, पुलुकिसी लगायतका नाचहरु भने आज बेलुकीबाट सुरु हुनेछन् ।

आजै दिवंगत आफन्तहरुको सम्झनामा पाल्चामा बत्ती बालेर ’उपाकु’ जाने गरिन्छ। इन्द्रचोकमा रहेको आकाश भैरव, हनुमानढोकामा रहेको हाथु द्य (श्वेत भैरव) को मूर्तिलाई सार्वजनिक रुपमा प्रदर्शन गर्ने गरिन्छ। मरुमा भन बन्धनमा कैद इन्द्र प्रदर्शन गर्ने गरिन्छ ।

भदौ २४ गते ‘क्वःनेया’ (तल्लो टोलमा) जीवित देवी कुमार र जीवित देवहरु गणेश र भैरवको रथ यात्रा हुनेछ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै ‘दागीं’ र त्यसपछि ‘बहुमतः’ ल्याउने परम्परा रहेको छ ।

असोज २५ गते भने कुमारी, भैरव र गणेशलाई थःनेया (माथिल्लो टोलमा रथ यात्रा) गराइन्छ। भदौ २८ गते नानिचा यात्रा पछि हनुमानढोका ठड्याइएको यःसिं ढाल्नेर टेकु दोभानमा लगेर सेलाएपछि इन्द्रजात्रा विधिवत् रुपमा सम्पन्न हुनेछ ।

तस्बिरः रत्न श्रेष्ठ/रासस