सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गतेको निर्वाचनमा धाँधली भए प्रतिवादमा उत्रिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शनिबार सुनसरीको दुहवीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको सरकारले प्रहरी प्रशासनको बलमा चुनावमा धाँधली गर्नसक्ने भन्दै नेता तथा कार्यकर्तालाई सचेत रहन निर्देशन दिएका हुन् ।
सुनसरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारसँग पराजित भएकी एमाले नेतृ भगवती चौधरीको प्रसंग कोट्याउँदै अध्यक्ष ओलीले चुनावमा धाँधली गर्नसक्ने भन्दै त्यसको प्रतिवादमा उत्रिन तयार रहनुपर्ने बताए ।
उनले यसभन्दा अघि दुई पटकसम्म नेकपा एमालेले जितेको उक्त क्षेत्र प्रहरी प्रशासन लगाएर, राज्य शक्तिको दुरुपयोग गरेर र बाकस साटेर हार घोषणा गराइएको दाबी गरे ।
उनले भने, ‘यस भन्दाअघि दुईपटक भगवती चौधरीले जितेको क्षेत्र हो यो । तर हार घोषणा गराइएको छ । प्रहरी प्रशासन लगाएर राज्य शक्तिको दुरुपयोग गरेर, बाकस साटेर हार घोषणा गराइएको छ, म हाम्रा प्रशासन, प्रहरीका अधिकृत र सबै तहका साथीहरुलाई आग्रह गर्न चाहन्छु । तपाईहरु कुनै पार्टी विशेषको कार्यकर्ता होइन । त्यसकारण तपाईहरुले राष्ट्रसेवको हैसियतमा निष्पक्ष भूमिका खेल्नुपर्दछ । मैले विश्वास लिएको छु, यस निर्वाचनमा बाकस साट्ने, बुथ कब्जा गर्ने,अशान्ति मच्चाउने लगाएका काम हुने छैनन् । त्यसो नगर्न सबैमा आग्रह गर्दछु ।’
अध्यक्ष ओलीले नेकपा एमाले गड्यौलाजस्तो नभएको भन्दै दुई वटा दाँत भएको जस्तो डस्न तयार हुनुपर्ने बताए । उनले बुथ कब्जा गर्न खोज्नेलाई आफ्नो मतको र जनताको अभिमतको रक्षा गर्न तयार हुन निर्देशन दिए ।
उनले मंसिर ४ गते नेकपा एमालेले बहुमतको सरकार बनाउने दाबी गरे । नेकपा एमालेले बहुमतको सरकार बनाउनै पर्ने आवश्यकता रहेको जिकिर गर्दै अध्यक्ष ओलीले गठबन्धन सरकारले एक वर्षमा नै देशलाई कंगाल बनाएको आरोप लगाए ।
उनले भने, ‘एमालेका नेता कार्यकर्ता गड्यौला जस्तो हुने हैन । दुईटा दाँत भएको जस्तो डस्न तयार पनि हुनुपर्छ । बुथ कब्जा गर्न कसैले खोज्छ भने जनताको मतको रक्षा गर्ने, जनताको सार्वभौम अधिकारको रक्षा गर्ने काममा लाग्नु पर्छ । कुनै पैसाको खेलोमेलो, पदको प्रलोभनमा लाग्नुहुन्न । मंसिर ४ गते एमालेले बहुमतको सरकार बनाउँदै छ ।’

प्रतिक्रिया