नेपाल बार, पूर्वप्रधानन्यायाधीश र न्यायाधीशहरु चालेन्द्र शम्सेरको निशाना


काठमाडौं । नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराले महाअभियोग नै निष्क्रिय भइसक्यो भन्नुको तुक नरहेको बताएका छन् ।

बुधबार महाभियोग सिफारिस समितिको बैठकमा बयानका क्रममा जबराले महाभियोग प्रस्ताव नै संविधान बमोजिम अघि नबढ्दा निष्क्रिय बनिसकेको बयान दिएको भन्दै सांसद पोखरेलले यसको अर्थ नरहेको बताएका हुन् । उनले महाभियोग प्रस्तावमा नै प्रधानन्यायधीश जबरा बयानका लागि आएको उल्लेख गर्दै प्रधानन्यायाधीशले यस्तो भन्नुको तुक नरहेको बताए ।

उनले प्रधानन्यायाधीशको बयानमा समिति सदस्यहरुले प्रतिप्रश्न गर्दा ४ वटा मात्रै प्रश्नको जवाफ आएको भन्दै बयानको समय ३÷४ दिनसम्म लगातार चल्ने बताए ।

सांसद पोखरेलले प्रधानन्यायधीश जबराबिरुद्ध तीन महिनाले पनि नपुग्ला की भन्ने तथ्यहरु आइरहेको उल्लेख गरे । उनले भने, ‘उहाँले डेढसय प्रश्नको जवाफ दिन जरुरी छ । त्यसबाट जे निष्कर्ष निस्कन्छ, तथ्य प्रमाणका आधारमा निस्कर्षमा पुग्छौँ । यो प्रश्न नै ३/४ दिनसम्म लगातार जान्छ । उहाँले निस्क्रिय भयो भन्ने अवस्था छैन । महाअभियोग प्रस्तावमा नै उहाँ आइरहनुभएको छ भने त्यो भन्नुको अर्थ रहँदैन । संसद सकिएपछि मात्रै के हुने नहुने भन्ने प्रश्न हुन्छ । संसद रहुन्जेलसम्म निस्क्रिय भयो भन्ने कुरा हुँदैन । गठबन्धनले ढिलो गरेको र पारित गर्नलाई ल्याएको होइन की भन्ने आशंका हामीलाई लागेको हो । हामीसँग समयावधि पुग्दैन । तीन महिनाले पनि नपुग्ला की भन्ने तथ्यहरु आइरहेका छन् ।’

जनता समाजवादी पार्टीका सांसद प्रमोद साहले प्रधानन्यायाधीश जबराले बयानका क्रममा आफूसँग गलत काम गराउनका लागि आएका न्यायाधीशहरुसँग पनि बयान लिनुपर्ने कुरा राखेको बताए ।

उनले न्यायाधीशले ल्याएका गलत कुराहरुमा सहभागी नबन्दा आफूबिरुद्ध महाभियोग लगाइएको कुराहरु प्रधानन्यायाधीश जबराले राख्नुभएको पनि बताए । उनले भने, ‘हामीले राखेका ४ प्रश्नको जवाफ दिनुभयो । साथै त्यसमा प्रतिप्रश्नहरु पनि भए । जवाफ आएकाको प्रमाण जुटाउने र उहाँले लिएका व्यक्तिहरुसँग पनि बयान लिनुपर्ने हुन्छ । अहिले नै ठिक, बेठिक र सन्तुष्टि र असन्तुष्टिको कुरा होइन । उहाँले बयानका क्रममा आफूसँग हरेक समय गलत गराउन चाहनुभएका न्यायाधीशलाई पनि बोलाएर बयान लिनुपर्ने कुरा राख्नुभएको थियो । बयानमा उहाँले भन्नुभएको थियो तरपनि मैले न्यायपालिकाको नीति र सिद्धान्तलाई आधार मानेर मैले गलत गर्न चाहिन । त्यसैले यस्ता कुराहरु मप्रति महाअभियोग आयो । अदालतकै श्रीमानहरुको नाम लिनुभएको छ । मैले ९९ प्रतिशत न्यायपालिकाका न्याायधीश तपाईको बिरुद्धमा गए यसको कारण के थियो भन्ने प्रश्न गरेँ ।’

नेपाली काँग्रेसका सांसद मिन विश्वकर्माले संसदलाई प्रधानन्यायाधीशको काम कारबाहीमा चित्त नबुझेर महाअभियोग लगाएको र महाअभियोग प्रस्ताव आएकोमा प्रधानन्यायाधीशलाई चित्त नबुझ्दा प्रधानन्यायाधीश जबराले प्रस्तावकमाथि प्रश्न गर्नु सामान्य भएको बताए । उनले शुरुको दिन भएर लामो समय लागेको र आगामी दिनमा प्रक्रिया चाँडो अघि बढ्ने बताए ।

उनले प्रधानन्यायाधीशले गोलमटोल जवाफ दिएको बताए । उनले भने, ‘संसदलाई प्रधानन्यायाधीशको काम कारबाहीमा चित्त बुझेन र महाअभियोग प्रस्ताव दर्ता गर्नुभयो, महाअभियोग प्रस्ताव आएकोमा प्रधानन्यायाधीशलाई चित्त बुझेन प्रस्तावकमाथि प्रश्न गर्नुभयो । शुरुको दिन भएर एउटै प्रश्नमा प्रतिप्रश्न आउँदा ढिलो भएको हो, भोलिबाट छिटो हुन्छ । गोलमटोल जवाफ दिनुभएको छ ।’

नेकपा एमालेका सांसद विष्णु पौडेलले छलफल यो प्रक्रियाभरका सबै सामग्री अफिसियल रेकर्ड गरिएको र वेबसाइटमा राखिने जानकारी दिए । उनले नेकपा एमाले सञ्चारमाध्यमलाई सँगै राखेर छलफल गर्ने पक्षमा रहेपनि समिति सभापति र अन्य सांसदहरु नमानेपछि प्रक्रियाभरका छलफलका भिडियो सामग्री वेबसाइटमा राख्न सहमति जुटेको बताए ।

उनले भने, ‘आज महाअभियोग समितिको बैठक बस्यो । भोलि ११ बजेबाट फेरि जारी रहन्छ । हामीले आजका बैठकमा गरेका सबै छलफल यो प्रक्रियाभरका सबै सामग्री अफिसियल रेकर्ड छ, त्यो रेकर्ड तत्काल पाउनुहुन्छ । वेबसाइटमा राख्ने सल्लाह छ । नेकपा एमाले सञ्चारमाध्यमलाई सँगै राखेर छलफल गर्ने पक्षमा नेकपा एमाले थियो तर सभापति र केही समितिका साथीहरुले नमानेपछि बाहिर राखेका हौँ ।’ नेकपा (माओवादी केन्द्र) की सांसद रेखा शर्माले महाभियोग जस्तो विषय गम्भीर रुपमा छलफल हुनुपर्ने धाराणा राखिन् ।

उनले आजको बैठकले बयानको समय लम्बिने निश्चित भएको बताइन् । सांसद शर्माले अबको दिनमा कसरी अघि बढ्ने भन्ने बारेमा समितिमा छलफल गरेर निर्णय गर्ने बताइन् । उनले बयानका क्रममा प्रधानन्यायाधीश जबराले नेपाल बार, पूर्व प्रधानन्यायाधीश र न्यायधीशहरुमाथि प्रश्न उठाएको पनि बताइन् ।

उनले भनिन्, ‘महाअभियोग जस्तो विषय गम्भीर रुपमा छलफल हुनुपर्छ । हचुवाको भरमा गर्ने कुरा रहँदैन । आजको बैठकले समय अलि लाग्छ भन्ने नै देखियो । हामी समितिमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल गर्नेछौँ । उहाँले राजनीतिक दल मात्रै होइन, नेपाल बार एशोसिएशन, पूर्व प्रधानन्यायाधीश सबैप्रति प्रश्न उठाउनुभएको छ । उहाँले सबै एकातिर हुँदा म एक्लो वृहस्पिति भएँ भन्ने कुरा गर्नुभयो ।’प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग सुनुवाई गर्न गठित महाअभियोग सिफारिस समितिको बैठक बिहीबार ११ बजे बस्नेछ ।