चोलेन्द्र समशेरसँग बयान लिन शुरु


काठमाडौं । महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरासँग बयान लिन शुरु गरेको छ । बुधबार महाभियोग सिफारिस समितिले जबरासँग सिंहदरबारस्थित कानून, न्याय तथा मानवअधिकार समितिको बैठक कक्षमा बयान लिन शुरु गरेको हो ।

समितिको बैठकमा जबरा उपस्थित भएको फोटो र भिडयो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको थियो । यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा वहस चलेको थियो । जसकारण बयान लिन ढिलाइ भएको थियो ।

समितिका सदस्यसमेत रहेका नेकपा एमालेका सांसद कृष्णभक्त पोखरेलले बयानलाई खुला राख्नुपर्ने बताएका थिए । तर नेपाली काँग्रेसका सांसद मीनबहादुर विश्वकर्मा, नेकपा (माओवादी) का रेखा शर्मा र नेकपा (एकीकृत समाजवादी) का कल्याणी खड्काले बन्द बयान लिनुपर्ने अडान लिएका थिए ।

महाभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश जबरालाई ४३ वटा प्रश्न सोध्ने भएको छ । जबरालाई सोध्नका लागि ४३ वटा प्रश्न तयार गरिएको समितिले जनाएको छ ।

गत बुधबार समितिले निलम्वित प्रधानन्यायाधीश जबरालाई बयानका लागि बोलाएको थियो । आज बिहान ११ बजे नै आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा सिंहदरबार पुगेका थिए । गत फागुन १ गते सत्तारुढ दलका सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्वनमा परेका थिए ।