‘अण्डरग्राउण्डमा’ सञ्चालित व्यवसाय खाली गर्न महानगरको निर्देशन


काठमाडौं । अवैध संरचनाहरू हटाउँदै हिँडेका काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई बानेश्वरमा अवरोध गरिएको छ । अल्फाबिटा कम्प्लेक्सको अन्डरग्राउन्डमा व्यवसाय सञ्चालन गरेका घरबेटीलाई उक्त व्यवसाय गरिरहेको ठाउँ खाली गर्न आग्रह गर्दा सञ्चालकले नटेरेपछि मेयर साह उनीसँग झोक्किएका हुन् ।

आफूलाई नगरपालिकाबाट कुनै सूचना नआएको र थाहा नभएको भन्दै अनभिज्ञता प्रकट गर्दै सञ्चालकले कम्प्लेक्सको नक्सा अहिले आफूसँग नभएको भन्दै मेयर साहसँग हुनुपर्ने भनेपछि उनी झोक्किएका थिए ।

साहले झोक्किँदै ’तपाईंको घरको नक्सा मसँग हुनुपर्ने कि तपाईंसँग’ भन्दै कराएका थिए । महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित अनुगमन गर्न निस्किएका साहले पार्किङका लागि बनाइएको बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको पाएपछि हटाउन त्यसलाई हटाउनसमेत निर्देशन दिएका छन् ।

एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएपछि महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो ।