काठमाडौं । श्रावण शुक्लपूर्णिमा अर्थात् रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व देशभर मनाइँदैछ । जनैपूर्णिमाको दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट नाडीमा रक्षासूत्र (डोरो) बाँध्ने परम्परा छ ।
आज बिहान पशुपति क्षेत्रमा गएर स्नान गर्ने, पुरानो जनै हटाएर नयाँ जनै लगाउने तथा नाडीमा डोरो बाँध्ने र बाँधिदिनेहरुको चहलपहल थियो । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो र जनै लगाउँदा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै (यज्ञोपवीत) फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख छ ।





प्रतिक्रिया