मिटरब्याजीविरुद्ध प्रहरी अझ सक्रिय भएर लाग्छः महानिरीक्षक सिंह
काठमाडौं । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही नेपाल सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन् ।
आफ्नो कार्यकालको एकसय दिन पुगेको अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन लगायतका हरेक काम संगठनको प्रणाली अनुरूप पारदर्शी रूपमा भएको बताए । उनले सांगठनिक सुधारको लागि ८ वटा लक्ष्य सहित कार्ययोजना २०७९ लागू समेत गरिएको उल्लेख गरे ।
मिटरब्याजी, तस्करी, वित्तिय अपराध, सिमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, करणीलगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्य सम्पादन गर्ने उनले बताए । प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढिकरणको लागि आगामी दिनमा समेत सञ्चारजगतबाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उनले बताए ।
महानिरीक्षक सिंहले आफ्नो कामको सिलसिलामा प्रहरी कर्मचारीहरू कुनै पनि किसिमको दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्ने बताए । कानून भन्दा कोही पनि माथि नभएको भन्दै प्रहरी कर्मचारीहरू प्रहरी आचरण तथा व्यावसायिकता भन्दा बाहिर गएमा कारवाही गरिने उनले उल्लेख गरे ।
सिंहले हालै एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गर्दै निर्वाचन शान्तिपूर्ण, भयरहित एवम् विश्वसनीय वातावरणमा सम्पन्न भएको चर्चा गरे । साथै उनले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई समेत शान्तिपूर्ण तवरले सम्पन्न गर्नको लागि प्रारम्भिक चरणका कार्यहरू समेत थालनी भइसकेको बताए ।