काठमाडौँ । आगामी प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि असोज २३ गते उम्मेदवारी दर्ता हुने भएको छ । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम असोज २३ गते पहिलो हुने निर्वाचित हुने प्रणाली(प्रत्यक्ष)तर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुनेछ ।
प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन व्यवस्थापनका लागि आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको जानकारी दिए । उनले आयोगले उक्त तालिका पछ्याउँदै निर्वाचन कार्यक्रम सञ्चालन गर्ने बताए । आयोगको परामर्शमा सरकारले मङ्सिर ४ गते निर्वाचन मिति घोषणा गरिसकेको छ ।
कार्यतालिका अनुसार मङ्सिर ४ गतेदेखि समानुपातिक र प्रत्यक्षतर्फको मतगणना सुरु भएसँगै निर्वाचन कार्यक्रम टुङ्गिने छ । उक्त अवधिका लागि आयोगले ७६ वटा कार्यक्रम तय गरेको छ ।
यद्यपि आयोगले तालिकामा केही संशोधन हुनसक्ने जनाएको छ । असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ ।
आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ । मङ्सिर ४ गते बिहान सात बजेदेखि साँझ पाँच बजेसम्म मतदान हुनेछ ।

प्रतिक्रिया