संसदीय समितिले भन्यो- फाष्ट ट्रयाक निर्धारित समयमै सम्पन्न गर्नेगरी कार्ययोजना बनाउनु


काठमाडौं । संसदको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ ।

सोमबार बसेको समितिको बैठकले आयोजनाको हालसम्मको अवस्था हेर्दा निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने निष्कर्ष निकालेको छ ।

समितिले पूर्वनिर्धारित कार्यतालिका बमोजिम ठेक्का व्यवस्थापनका कामहरु हालसम्म हुन नसकेको भन्दै निर्धारित समयमा सम्पन्न गर्नका लागि ठोस कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउन सरकारलाई निर्देशन दिएको हो ।

समितिले आयोजनाको लागत बढ्न नदिन तथा गुणस्तरीय काम गर्नमा जोड दिएको समिति सभापति कल्याणी कुमारी खड्काले जानकारी दिइन् ।

त्यस्तै बैठकले द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा वातावरणीय पक्षहरु इआइए र इएमपीको कार्यान्वयनको अवस्था कस्तो छ र तेस्रो पक्षबाट अनुगमन भए÷नभएको सम्बन्धमा १५ दिन भित्र समितिलाई स्पष्ट जानकारी दिन पनि निर्देशन दिएको छ ।

त्यसैगरी, समिति यसअघिका बैठकले दिएको निर्देशनका सम्बन्धमा रक्षा मन्त्रीस्तरीय निर्णयबाट गठित छानबिन समितिको प्रतिवेदन समितिमा प्राप्त भएकोले सो प्रतिवेदन बारे आगामी बैठकमा छलफल गरिने समिति सभापति खड्काले जानकारी दिइन् ।