घरानाको अनुहार देखिन्छन् यो बजेटमाः अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको बजेटमा केही घरानाको अनुहार देखिएको आरोप लगाएका छन् । सोमबार प्रतिनिधिसभाबो बैठकमा विशेष समय लिएर बोल्दै अध्यक्ष ओलीले अनुहार हेरेर निश्चित घरानालाई फाइदा पुग्ने गरी विशेष बजेट ल्याइएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने,‘बजेट के आयो, कस्तो आयो भन्दा पनि कसरी आयो भन्ने ज्यादै गम्भीर विषय हो। अनाधिकृत मान्छेहरु बजेट निर्माणको काममा संलग्न हुन पाइन्छ ? अहिलेसम्म विश्वमा यस प्रकारका क्रियाकलाप भएका छैनन् होला। बजेट बनाउने बेला सचिवहरु, उच्च तहका कर्मचारीहरु त्यही खान्छन्, बाहिर जान पाउँदैनन्। अर्थ सचिव, करका सचिव त्यही बस्नुपर्छ। बाहिर जान पाइँदैन। तर यहाँ बजेटका दर कति राखौं भनेर अनाधिकृत मान्छेको प्रयोग भयो। यो त देशको बजेटै भएन, व्यापारीको बजेट भयो। घरानाको अनुहार देखिन्छन् यो बजेटमा।’

उनले बजेट खतरनाक प्रक्रियाबाट निर्माण भएको बताए । उनले भने, ‘सदनमा आवाज उठेको छ। विज्ञहरुले आवाज उठाएका छन्। तर, को एमाले हो ? फुटेज माग्दैमा दिनुपर्छ भन्ने के छ ? दिइँदैन भन्ने प्रतिकृया सरकारबाट आएका छन्। यो भन्दा असंसदीय तरिका हुन्छ ?’अध्यक्ष ओलीले बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेशको विषयमा संसदीय छानबिन गर्नुपर्ने माग गरे ।

उनले भने, ‘यसमा एउटा संसदीय कमिटी बनाएर छानबिन गर्नुपर्छ, त्यसको प्रतिवेदन सम्मानित संसदमा आउनुपर्छ । प्रधानमन्त्रीजी केही गर्न नसक्ने अवस्थामा पुग्नुभएको हो ? एउटा मन्त्रीमाथि प्रश्न उठ्दा गठबन्धन धरापमा पर्छ भनेर प्रधानमन्त्री चुप बस्न मिल्छ ?’