रैनाथे बीउले अहिलेको आवश्यकता पूरा गर्न सक्दैन, अब नेकपाको हाइब्रिड बीउ बनाउँछौँः घनश्याम भुसाल


काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमा रोपेको भनिएको बीउ नउम्रिने बताएका छन् । बुधबार वामपन्थी नेता सिद्धिलाल सिंहको अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन अब हाइब्रिड बीउको जरुरी रहेको बताएका हुन् ।

आजै आयोजित एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले एमालेभित्र माओवादीको बीउ रोपेको र केही समयमा फल्ने बताएका थिए । भुसालले भने,‘कमरेड प्रचण्डले आजै एक कार्यक्रममा एमालेमा माओवादीको बीउ रोपेका छौं भन्नु भएछ, त्यो एउटा धारालाई संगठित गर्नको लागि जे भन्नु भएको छ, आजको आवश्यकतालाई बुझ्नु भएन । यी बीउ नउम्रने बीउ हुन् । रैनाथे परापूर्वका बीउले अहिलेको आवश्यकता पूरा गर्न सक्दैनन् । हाइब्रिड बनाउँदै अझ उत्पादन गर्ने बीउ चाहिन्छ अस्ति हामीले हाइब्रिड बनाएका थियौं त्यो भनेको नेकपा एउटा हाइब्रिड थियो । हाम्रो वुद्धि पुगेन भकारीमा आगो लगायौं । फेरि पनि हामी नेकपाको हाइब्रिड बीउ बनाउँछौँ ।’ उनले एकअर्कालाई गाली गरेर कम्युनिष्टहरूले राम्रो नगरेको बताए ।