काठमाडौं । नेकपा एमालेका सांसद डा. भीम रावलले काठमाडौंको फोहोर व्यवस्थापन नगर्दा फोहोर संकटकालको स्थिति उत्पन्न भइसकेको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभामा बोल्दै रावलले फोहोर व्यवस्थापनमा सरकारले दायित्वबोध नगर्दा यस्तो अवस्था उत्पन्न भएको बताएका हुन् । उनले फोहोर व्यवस्थापनको दायित्वलाई सरकारले नगरपालिकाको टाउकोमा हालेर आनन्दले बस्न नमिल्ने बताए ।
उनले भने, ’आम जनताको स्वास्थ्य गम्भीर संकटमा परिरहेको छ। अनि यो व्यवस्थापन गर्न नसक्ने सरकारले म कृषिमा आत्मनिर्भर हुन्छु भनेको पत्याइन्छ ?’ रावलले सबैभन्दा पहिले काठमाडौंको फोहोर सफा गरेर देखाउन प्रधानमन्त्रीलाई आग्रह गरे। उनले भने, ’जनताको स्वास्थ्य यति गम्भीर हुँदा चुप लागेर बस्ने अनि अर्थतन्त्रमा ठूलाठूला काम गरेर चमत्कार गर्छौँ भन्ने ? यो त जनतालाई सरासर भ्रममा राख्ने एक प्रकारको निरर्थक अभ्यास भएन र?’
रावलले संसदबाट एमसीसी सम्झौतालाई १२ बुँदे व्याख्यात्मक घोषणासहित पास गरेर सो घोषणालाई सम्झौताको अंग बनाइएको भनिएपनि अंग बनेको पत्र नआएको बताए । उनले सो पत्रको बारेमा प्रतिनिधिसभालाई जानकारी गराउन माग गरे ।
उनले भने,‘हामीले १२ बुँदे व्याख्यात्मक घोषणा गरेका छौँ । त्यो व्याख्यात्मक घोषणा त्यो सम्झौताको अंग भएको छ । तर त्यसको अंग भएको पत्र खोई ? यो जनताप्रति उत्तरदायी व्यवस्था हो कि होइन ? हामी प्रतिनिधिसभाका सदस्यलाई त्यो जानकारी गराउनु पर्छ कि पर्दैन ? देशव्यापी रुपमा त्यो सबभन्दा बढी बहस भएको विषय हो कि होइन ? तर सरकार बेखबर छ, मानौँ यसबारे देशमा केही भएकै छैन ।’ रावलले नेपालमा अमेरिकी सेना तैनाथी गर्ने सम्झौता अगाडि बढाइन लागेको दाबी गरे ।
उनले भने,‘दिनदिनै सुनिराछौं, अमेरिकाका सेनाका प्रमुख आउने रे ! एसिया प्रशान्त क्षेत्रका प्रमुख । यहाँका सेना अमेरिका जाने रे ! यहाँ के हुँदैछ ? सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा जीलाई म सोध्न चाहन्छु ।’

प्रतिक्रिया