भरतपुरमा रेनु सात हजार मतले अगाडि, वीरगंजमा राजेशमानको १५ हजार मतको अग्रता


भरतपुर । भरतपुर महानगरपालिकामा पाँचदलीय गठबन्धनमा नेकपा (माओवादी केन्द्र)बाट उम्मेदवार बनेकी रेनु दाहालले सात हजार ४१५ मतले अग्रता लिएकी छन् । ८९ हजार ५०८ मतगणना गर्दा उनले ३५ हजार ९८ मत प्राप्त गरिन् भने नेकपा (एमाले)का विजय सुवेदीले २७ हजार ६८३ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ११ हजार ८३५ मत प्राप्त गरेका छन् ।

उपप्रमखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का हिमला गुरुङलाई १५ हजार ४२६ मतान्तरले अग्रता लिएका छन् । अधिकारीले ३७ हजार ३२६ मत प्राप्त गर्दा गुरुङले २१ हजार ९०० मत प्राप्त गरेकी छन् ।

भरतपुर महानगरमा हालसम्म १ देखि १७ नं वडासम्मको गणना सम्पन्न भइसकेको छ । अहिले अन्य वडाको मतगणना जारी रहेको छ । यस पालिकामा २९ वटा वडा रहेको छ । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।
वीरगञ्ज महानगरमा गठबन्धनको अग्रता कायमै
पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार नगरप्रमुख पदमा गठबन्धनका उम्मेदवार राजेशमान सिंहले ३२ हजार १५८ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत जारी मतगणनामा नेकपा (एमाले)का विजयकुमार सरावगी १६ हजार ८२२ मतसहित दोस्रो स्थानमा छन् ।

महानगरपालिकाका ३२ वडा मध्ये विभिन्न १५ वडाका ६५ हजार ५३३ मत मतगणना सम्पन्न भएको छ । मतणना गर्न लामो समय लाग्ने भएका कारण अन्तिम नतिजा आउन केही दिन लाग्ने छ ।

मधेस प्रदेशको एकमात्र महानगरपालिका नेतृत्वका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाएको थियो भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीचको गठबन्धनबाट निवर्तमान नगरप्रमुख सरावगीलाई उम्मेदवार बनाएको थियो ।