केन्द्रको निर्णयअनुसार मनोनयन दर्ता गर्न सत्ता गठबन्धनको निर्देशन


काठमाडौं ।  सत्ता गठबन्धनले पाँच दलीय गठबन्धनको निर्णय अनुसार मनोननय दर्ता गर्न निर्देशन दिएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोनयन दर्ता गर्दा गठबन्धनले गरेको निर्णय अनुसार गर्न नेता, कार्यकर्ताहरुलाई निर्देशन दिएको हो । बैठकले गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउनका लागि आ–आफ्नो दलको संयन्त्रमार्फत् निर्देशन दिने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

उनले देशैभरी पाँच दलको एउटै उम्मेवार हुने बताए । उनले भने, ‘समग्र बैठकमा पाँच दलको भावना र मर्म अनुसार अघि बढ्ने र कहीँ आन्तरिक केही असमझदारीहरु छन् भने तिनीहरुलाई समझदारीमा परिणत गर्नेर जनमतलाई ध्यानमा राखेर आफ्ना गतिविधिहरुलाई अघि बढाएर आज पाँच दलको जुन निर्णय छ, त्यही निर्णय अनुसार सबैलाई मनोनयन गर्नका निमित्त निर्देशन दिने कुरा भएको छ । केही असमझदारीहरु छन्, सिट थोरै छ । योगदान गरेका धेरै साथीहरु हुनुहुन्छ । स्वाभाविक रुपले उहाँहरुको आकांक्षा हुनुलाई अन्यथा ठहर्याउन सकिन्न । तर पार्टीको जुन एउटा मर्यादा छ, अनुशासन छ र अहिलेको जुन आवश्यकता छ त्यसलाई हृदयंगम गरेर पार्टीले जुन निर्णय गर्छ त्यो निर्णयलाई पालना गरेर अगाडी बढ्नुको हामीसँग अहिले विकल्प छैन।’

मन्त्री कार्कीले गठबन्धनको निर्णय विपरित उम्मेदवारी दर्ता गराउनेहरुलाई पनि सहमतिमा ल्याउने बताए ।