काठमाडौँ । ललितपुरको नख्खु कारागारमा सोमबारदेखि विपश्यना ध्यान शिविर सुरु भएको छ । फागुन २७ गतेसम्म सञ्चालन हुने उक्त शिविरमा ३५ जना कैदीबन्दी सहभागी छन् ।
नेपाल विपश्यना केन्द्रको आग्रहमा सरकार, गृह मन्त्रालय र कारागार व्यवस्थापन विभागले शिविर सञ्चालनको अनुमति दिएको हो । सोमबार नख्खु कारागारमा शिविर सुरुवात गर्दै गृहसचिव टेकनारायण पाण्डैले विपश्यना साधनाले कैदीबन्दीको जीवन रुपान्तरण गर्न सहयोग पुग्ने बताए ।
कारागार विभागका महानिर्देशक वासुदेव घिमिरेले आफू पनि विपश्यनाको साधक भएकाले यस्तो अवसरमा सहभागी हुन पाउँदा खुसी लागेको बताए। उक्त अवसरमा विपश्यना आचार्य पूर्णप्रसाद ढकालले विपश्यना साधनाबारे स्पष्ट पारेका थिए।
कार्यक्रममा सर्वोच्च अदालतका रजिस्ट्रार निर्मला पौडेल, गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणी पोखरेल, ललितपुर जिल्लाका प्रजिअ घनश्याम उपाध्यायले शिविरमा सहभागी हुने कैदीबन्दीलाई शुभकामना दिएका थिए।
त्यस्तै, नख्खु कारागारका जेलर चिरञ्जिवी गिरीले कार्यक्रमका सहभागीलाई स्वागत गरेका थिए। भगवान् बुद्धले २५ सय वर्षअघि ज्ञान प्राप्त गर्ने क्रममा विपश्यना साधना अपनाएका थिए। त्यसपछिका ५ सय वर्षसम्म ठूलो संख्यामा साधकले यो साधना विधि अवलम्वन गरे पनि त्यसपछि यो विस्तारै केही साधकहरुमाझ सीमित रहँदै आएको थियो।

प्रतिक्रिया