ट्राफिक प्रहरीद्वारा २८ वटा चोरिएका मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको विभिन्न स्थानबाट हराएका २८ वटा सवारी साधन फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । बिहीबार महाशाखामा आयोजित कार्यक्रममा बिभिन्न कम्पनीका १७ वटा मोटरसाइकल र ११ वटा स्कुटर सम्बन्धित धनीहरुलाई महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले हस्तान्तरण गरेका हुन् ।
काठमाडौं उपत्यकाको व्यस्त बजार एरिया र चक्रपथ बाहिर आसपासबाट विभिन्न मिति र स्थानबाट हराएका भनी महाशाखामा परेको हुलिया निवेदन पश्चात परिचालन गरेको टोलीले खोजतलास गरी मोटरसाइकलहरु फेला पारि सम्बन्धित धनीलाई जिम्मा लगाएको एसएसपी जोशीले बताए ।
उनले मोटरासाइकल चोरी गर्ने गिरोह माथी निरन्तर निगरानी राखि सूचना संकलन भैरहेको र मोटरसाइकल चोरीमा संलग्न त्यस्ता व्यक्तिहरुलाई नियन्त्रणमा लिन विशेष अपरेशन टोली खटाएर खोजी गर्ने कार्य समेत भइरहेको बताए । उपत्यकाबाट दुईपाङ्ग्रे सवारी साधन मध्ये पल्सर मोटरसाइकल बढी चोरी हुने गरेको महाशाखाको तथ्याङ्कले देखाएको छ ।
महाशाखामा यस आर्थिक वर्षमा ८३१ वटा मोटरसाइकल हराएको भनि निवेदन परेका मध्ये ३०९ वटा मोटरसाइकल फेला पारेको हो । जसमध्ये २४४ वटा मोटरसाइकल सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ ।
त्यसैगरी विभिन्न स्थानबाट २८ वटा चोरीका मोटरसाइकल सहित ३८ जना चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरि आवश्यक अनुसन्धान एव कारबाहीको लागी विभिन्न प्रहरी वृत्तहरुमा पठाएको समेत महशाखाले जनाएको छ ।