अपराध अनुसन्धानको क्षेत्रमा नेपाल प्रहरीले सकारात्मक प्रगतिः आइजिपी क्षेत्री
काठमाडौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अपराध अनुसन्धानको क्षेत्रमा नेपाल प्रहरीले सकारात्मक प्रगति हासिल गरेको बताएका छन् ।
नेपाल प्रहरीको आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक कार्यप्रगति समीक्षा कार्यक्रम सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा उनले प्रहरीको सक्रियताका कारण फैसला कार्यान्वयन, जघन्य अपराध, तस्करी नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा सकारात्मक प्रगति भएको तथ्याङ्कले देखाएको बताएका हुन् ।
“सवारी दुर्घटना, लैङ्गिक हिंसाका घटनाको न्यूनीकरण तथा अनुसन्धान, हिरासत व्यवस्थापनमा अझ संवेदनशील तथा गम्भीरताका साथ प्रहरी परिचालित हुनुपर्छ”, उनले भने । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नागरिक सेवा एवम् मुलुकमा शान्ति सुव्यवस्था कायम गर्दै वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न तथा कोभिड–१९ महामारीको समयमा समेत प्रहरी कर्मचारी विचलित नभई कार्य सम्पादन गर्न निर्देशन दिए ।
कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, सातवटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले भर्चुअल रुपमा उपस्थित भई शान्तिसुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोतसाधनको व्यवस्थापन लगायतका बारेमा प्रस्तुतीकरण गरेका थिए ।