वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ४० वटा सस्तो टिकटको व्यवस्था गर्न निगम नेतृत्वलाई निर्देशन


काठमाडौं । नेपाल वायु सेवा निगमले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गन्तव्यमा उडान गर्ने आवश्यक जहाज खरिद गर्नका लागि सरकारसँग १५ अर्ब माग गरेको छ ।

निगमको मुख्यालयमा मंगलबार आयोजित निगम व्यवस्थापनसँगको अन्तरक्रियामा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको उडान विस्तार गरी व्यापार प्रवद्र्धनका लागि उक्त रकम आवश्यक भएकाले नयाँ जहाज खरिदको कार्ययोजना बनाइएको जानकारी दिए ।

उनले केही दिनमै नयाँ जहाज खरिदबारे कार्ययोजना निगम सञ्चालक बोर्डले निर्णय गरेर पर्यटनमन्त्रीसमक्ष पेश गरिने जानकारी दिए । उनले भने, “निगमको अहिले ऋण दायित्व खराब अवस्थामा छ । यो रकम पूँजी वृद्धिका लागि प्राप्त होस्, हामी कर्मचारीको तलबमा लगाउँदैनौँ, यसले निगमलाई हालको घाटाबाट मुक्ति दिलाएर व्यावसायिक लाभ हासिल गर्न सहयोग पुग्छ ।”

निगमका कर्पोरेट निर्देशक अर्चना खड्काले निगमको वर्तमान अवस्था र भावी कार्ययोजनाबारे प्रस्तुतीकरण गरेकी थिइन् । निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगी, वायुसेवा निगम कर्मचारी सङ्घका अध्यक्ष मानबहादुर कुँवर र वायुसेवा कर्मचारी सङ्गठनका अध्यक्ष राजु श्रेष्ठले निगमलाई निजीकरण गर्ने नाममा स्वार्थ समूहको खेलबाट जोगाउन कर्मचारीले सङ्घर्ष गरेर अहिलेको अवस्था आएको भन्दै निगमको व्यापार हिस्सा बढाउन जहाज थपेर नयाँ रणनीतिक योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

निगमले अन्तर्राष्ट्रियमा दुई वाइडबडी र दुई न्यारो बडी जहाजमार्फत सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको छ । आन्तरिकतर्फ हाल दुई साना जहाजले १७ गन्तव्यमा उडान गरिरहेको छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकलाई ४० वटा सस्तो टिकट
पर्यटनमन्त्री आलेले विदेशमा पसिना बगाएर मुलुकमा विप्रेषण भित्राउने वैदेशिक रोजगारीमा जाने श्रमिकको सम्मानका लागि निगमले कम्तीमा पनि ४० वटा सस्तो टिकटको व्यवस्था गर्न निगम नेतृत्वलाई निर्देशन दिए ।

निगमले यसअघि २० वटा यस्तो टिकट उपलब्ध गराउने गरेको थियो । उनले रोजगारीमा जाने मजदुरलाई निगम हाताभित्रैबाट टिकट दिलाउने र बिचौलियाबाट रोक्ने गरी व्यवस्थापन गर्न आग्रह गरे । पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निगमको व्यापार हिस्सा बढाउन र यसको साखलाई अभिवृद्धि गर्न मन्त्रालय पनि गम्भीर रहेको बताए ।

उनले व्यावसायिक कार्ययोजनाका साथ उपलब्ध स्रोत, साधन र जनशक्तिको भरपुर उपयोग गरी खर्च कम गरेर नाफा बढाउनेतिर लाग्न निगम व्यवस्थापनलाई निर्देशन दिए । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको आन्तरिक तथा अन्तर्राष्ट्रिय गन्तव्यमा बजार हिस्सा बढाउने गरी भएका जहाजको प्रभावकारी व्यवस्थापन र आवश्यक जहाज खरिदका लागि कार्ययोजनाका साथ अघि बढेको जानकारी दिए ।

उनले निगमको प्रमुख आयस्रोत भूमिस्थ सेवा खोस्न निजी एयरलाइन्स लागि परेको भन्दै निगमको भविष्यसँग जोडिएको यो सेवालाई निगमले नै पाउने गरी निर्णय गर्न पर्यटनमन्त्रीसमक्ष अनुरोध गरे ।

उनले निगमले विश्वका प्रख्यात एयरलाइन्ससँग सहकार्य गरेर निगमकै टिकटमा निगमका जहाज नपुग्ने विश्वका विभिन्न गन्तव्यमा पनि यात्रुले यात्रा गर्ने वातावरण सिर्जना भएको भन्दै यसले निगमको साखलाई उँचो बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।