सत्तारुढ गठबन्धनद्वारा सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति गठन


काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनले सरकार सञ्चालनमा सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सरकार संचालनका लागि सहयोग गर्न ११ सदस्यीय समन्वय समिति बनाएको हो ।

समितिमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट दुई–दुई सदस्य रहने माआवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

उनकाअनुसार सरकारका तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की छन् । उक्त समितिमा प्रधानमन्त्री शेरबहादुर देउवा नभए पनि हरेक कार्यक्रममा उपस्थित हुनेछन् । त्यस्तै कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्ण सिटौला सदस्य तोकिएका छन् ।माओवादी केन्द्रबाट पुष्पकमल दाहाल ’प्रचण्ड’को नाम दिइएको छ । अर्को नाम पछि निर्णय हुनेछ ।

एकीकृत समाजवादीबाट माधवकुमार नेपालको नाम आएको छ । अर्को नाम आउन बाँकी रहेको उनले बताए । जनता समाजवादी पार्टी (जसपा) बाट उपेन्द्र यादवको नाम दिइएको छ । यस्तै, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहेका छन् । समन्वय समितिको बैठकको संयोजन हरेक पार्टीले दुई/दुई महिना गर्ने सहमति भएको छ । त्यसअनुसार पहिलो बैठकको संयोजन कांग्रेस नेता पौडेलले गर्ने नेता श्रेष्ठले बताए ।