नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्कियो


नेपालगंज । नेपालगन्ज विमानस्थलमा सीता एयरको जहाज बँदेलसँग ठोक्किएको छ । मंगलबार बिहान नेपालगंजबाट हुम्लाको सिमिकोट उड्ने क्रममा जहाज धावनमार्गमा बँदेलसँग ठोक्किएको हो ।

दुर्घटनामा मानवीय क्षति भएको छैन । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल छन् । १४ यात्रु र कार्गो बोकेको सो जहाजको अगाडिको टायर भन्दा माथिल्लो भागमा प्वाल परेको छ ।

अहिले जहाजलाई धावनमार्गबाट पार्किङमा ल्याइसकिएको छ । सीता एयरका वरिष्ठ महाप्रबन्धक धनश्याम आचार्यले घटनालगत्तै मंगलबार बिहान काठमाडौंबाट प्राविधिकहरुको टोली जहाज मर्मतका लागि पठाएको जानकारी दिए । नेपालगन्ज विमानस्थलभित्र ठूलो झाडी भएकाले त्यहाँ बदेलको बासस्थान छ । यसअघि पनि जहाज उड्ने बेला बँदेल देखिने र ठोक्किने घटना भएका छन् ।