काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालजस्तो देशमा प्रजातन्त्र विनाको राजसंस्था र राजसंस्था विनाको प्रजातन्त्र सान्दर्भिक हुन नसक्ने बताएका छन् ।
विजया दशमीको अवसरमा देशभित्र र देश बाहिर रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिँदै पूर्वराजा शाहले यस्तो बताएका हुन् । सन्देशमा भनिएको छ, ‘देशको तत्कालीन परिस्थितिले हामीलाई बेग्लै जिम्मेवारी ग्रहण गर्न बाध्य तुल्याए पनि प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्तैन भन्ने आबोध हामीले गरेका छौँ । प्रजातान्त्रिक, प्रगतिशील या अन्य जुनसुकै विचारप्रति आस्थावान भए पनि राष्ट्रप्रतिको श्रद्धाले सबै नेपालीलाई एउटै मालामा उन्ने विश्वाश हामीले लिएका छौँ।’
अतितका गौरवपूर्ण विधि व्यवस्थालाई सम्झेर विद्यमान नमिल्दा स्थितिलाई सुधार्ने सकारात्मक र देश सुहाउँदो राजनीति, राज्य व्यवस्थाका सबै कृयाशिल शक्तिहरुबाट सही सोच राख्नु देश र जनताको हितमा उपयुक्त अनुभुति हो भन्ने आफ्नो धारणा रहेको उनले बताएका छन् ।
सन्देशमा उनले भनेका छन्, ‘हाम्रो समाज सनातनिक आदर्श र पुर्ख्यौली पौरखबाट पृथक छैन । तर हाम्रो राजनीतिक र राजकाजी चालचलन त्यस अनुरुप हुन सकेन । लोककल्याणका हेतु, राजनीतिक स्वच्छता, जनप्रियता र जनआकांक्षा पूर्तिको दिव्य मान्यतामा आधारित हुनु पर्ने हो । तर राजनीतिक व्यवस्था आफू, आफ्नो समूह र त्यसभित्रको गुट उपगुटमा अल्झिएको छ ।’


प्रतिक्रिया