चुनावबाट जनताले पत्याउने पार्टीकोरुपमा कांग्रेस पुनःस्थापित हुनुपर्छः नेता सिंह


काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले संविधानले सुनिश्चित गरेको आमनागरिकले निःशुल्करुपमा पाउनुपर्ने स्वास्थ्य सेवालाई सरकारले कार्यान्वयन गर्नुपर्ने बताएका छन् ।

काठमाडौंको चाकसीबारीस्थित निजी निवासमा सोबार आयोजित कार्यक्रममा उनले आम नेपालीको अधिकार संविधानमा सुनिश्चित भएपनि कार्यान्वयन हुन नसकेको बताए ।

‘नेताहरुको सम्पत्ति बढ्दै जाने, जनताहरुलाई सधैं दुखको दुख रहनु गलत भएको बताउँदै नेता सिंहले भने, “स्वास्थ्य सेवा किन फ्रि हुदैन ? पोलिसी बनाएपछि त हुन्छ नि । तर यो आँट गर्ने नेता चाहियो । १२ कक्षासम्म निःशुल्क शिक्षा पनि उपलब्ध गराउनुपर्छ । यसका लागि सफा चरित्र भएको बहुआयामिक क्षमतावान र इमान्दार नेता नभई सम्भव छैन ।”

काँग्रेसको आसन्न चौधौं महाधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका सिंहले प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलपछि आफू सिनियर भएको बताए ।

विगतमा टेक्ने ठाउँ बलियो नभई केन्द्रीय नेतृत्वका लागि हावादारी कुरा गरेर मात्रै हुँदैन भन्ने धारणाकासाथ अहिले सभापतिका लागि सबै नेताहरुसँग व्यक्तिगतरुपमा पनि छलफल गर्दै आएको उनले बताए ।

राष्ट्र संकटमा परेकोबेला जहिले पनि काँग्रेसको नेतृत्वले नै निकास दिने गरेको दावी गर्दै उनले आगामी महाधिवेशन र चुनावबाट जनताले पत्याउने पार्टीकोरुपमा काँग्रेस पुनःस्थापित हुनुपर्ने बताए । चौधौं महाधिवेशनले काँग्रेसको नेतृत्व रुपान्तरण हुन नसके काँग्रेसलाई जनताले पत्याउन नसक्ने पनि सिंहले बताए ।