एमालेको दशौं राष्ट्रिय महाधिवेशन बुटवलमा हुने


काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशनले राजनीतिक र साङ्गठनिक प्रतिवेदन सुझावसहित पारित गरेको छ । अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेलले आफ्ना प्रतिवेदनमाथि उठेका सवालमा जवाफ दिएपछि हलले सर्वसम्मतरूपमा ती प्रतिवेदन पारित गरेको हो । बन्दसत्रले यसअघि उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव पारित गरेको थियो ।

महाधिवेशनमा स्थायी कमिटी सदस्य रघुजी पन्तले समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरे । महाधिवेशनले डा विजय सुब्बाको अध्यक्षतामा १४ सदस्य केन्द्रीय निर्वाचन आयोग गठन गरेको छ ।

महाधिवेशनले पार्टीको लोगो परिमार्जन गरेको छ भने आजै एप्सको शुभारम्भ गरिएको छ । त्यस्तै विधान महाधिवेशनले आगामी मंसिर १०, ११ र १२ मा बुटवलमा दशौं राष्ट्रिय महाधिवेशन गर्ने स्थान तय गरेको छ ।