काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिएर स्वदेश फर्किएका छन् । परराष्ट्रमन्त्री डा. खड्कासहितको टोली संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा भाग लिएर बिहीबार बिहान स्वदेश फर्किएको हो ।
स्वदेश फर्केपछि त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री खड्काले आफूले महासभाको बैठकमा कोभिड १९ को प्रभावबाट विश्वलाई मुक्त गर्नका लागि सबै राष्ट्रलाई खोप, औषधिउपचार तथा अन्य उपकरणमा समान पहुँच हुनुपर्ने विषय उठाएको जानकारी दिए ।
त्यस्तै जलवायु परिवर्तनले नेपालको हिमालय श्रृङ्खलामा ल्याएको परिवर्तनबारे विश्व सचेत हुनुपर्ने, दिगो विकास लक्ष्य प्राप्त गर्नकालागि नेपालजस्तो राष्ट्रलाई सहयोग प्रदान गर्नुपर्ने लगायतको विषय आफूले सम्बोधनका क्रममा उठाएको उनले बताए ।
त्यसैगरी, विश्वमा आतंकवादको खतरा मुक्त गर्न साझा कार्यक्रम अघि बढाउनुपर्ने तथा शक्ति राष्ट्रहरु हातहतियारको होडवाजीबाट मुक्त भएर हातहतियारमा लगानी गर्ने स्रोत साधन कम विकसित र विकासोन्मुख राष्ट्रको हितमा प्रयोग गर्नुपर्ने कुरा सशक्त रुपमा उठाएको पनि उनले जानकारी दिए ।
परराष्ट्रमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्र संघमा शान्ति मिसन पठाउने चौथो ठूलो राष्ट्र भएको हुनाले नेपालका सिपाहीलाई उचित सम्मान गर्नुपर्ने र उच्च पद दिनुपर्नेकुरा उठाएको पनि बताए ।
उनले भारत, बंगलादेश, बहराइन, कुवेत, मालदिभ्सका परराष्ट्रमन्त्रीहरुसँग द्धिपक्षीय हितका विषयमा कुरा गरेको तथा विचार आदान प्रदान गरेको बताए । मन्त्री खड्काले नेपालले सशक्त र जोडदार रुपमा मुद्धाहरु उठाएको भन्दै ति मुद्धाहरु संयुक्त राष्ट्रसंघमा अभिलेखित हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया