नेपालमा संचालनमा रहेका जहाजहरुको भौतिक र यान्त्रिक अवस्था अध्ययन गर्न समिति गठन


काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले नेपालमा सञ्चालनमा रहेका वायुयानहरुको अवस्था अध्ययन गर्न पाँच सदस्यीय समिति गठन गरेको छ ।

प्रधानमन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री शेरबहादुर देउवाको निर्णय अनुसार मन्त्रालयले सहसचिव वुद्धिसागर लामिछाने संयोजकत्वको समिति गठन गरिएको हो ।

समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक भेषराज सुवेदी, वरिष्ठ क्याप्टेन कृष्णबहादुर पौडेल र पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल सदस्य र प्राधिकरणका प्रबन्धक लक्ष्मण देवकोटा सदस्य सचिव तोकिएका छन् ।

समितिले आइकाओबाट स्वीकृत मापदण्ड वायुसेवा कम्पनीले पालना गरेको वा नगरेको बारेमा नेपालको नागरिक उड्डयन प्राधिकरणले गरेको परीक्षण प्रतिवेदनको समेत पुनरावलोकन गर्ने जिम्मेवारी पाएको छ ।

समितिलाई यसका लागि तीन महिनाको समय दिइएको छ । सोमबार बुद्ध एयरको जहाजको ल्याडिङ गियर नखुलेर विराटनगर गएको जहाज काठमाडौं फर्काइएको थियो । यस घटनापछि हवाइ क्षेत्रको प्रभावकारिता तथा विश्वसनीयता बढाउन सहयोग पुर्याउने उद्देश्यले समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।