काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम सम्बन्धित मन्त्रालय एवं विभागलाई हस्तान्तरण सुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण निर्देशक समितिको यही भदौ ९ गतेको निर्णयानुसार हस्तान्तरण सुरु भएको हो ।
प्राधिकरणमा आयोजित कार्यक्रममा निजी आवास तथा बस्ती विकासतर्फको वित्तीय एवं प्राविधिक व्यवस्थापनसहितका पुनःनिर्माणसम्बन्धी बाँकी काम सहरी विकास मन्त्रालय र सहरी विकास तथा भवन निर्माण विभागलाई हस्तान्तरण गरिएको छ ।
सरकारी एवं सार्वजनिक भवन, स्वास्थ्य संस्था र केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)मार्फत सञ्चालित सम्पदा एवं गुम्बाको पुनःनिर्माणसम्बन्धी काम पनि सहरी विकास मन्त्रालय मातहत नै हस्तान्तरण भएको छ ।
शैक्षिक संस्थाको पुनःनिर्माणसम्बन्धी काम शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गर्ने गरी जिम्मेवारी दिइएको छ । पुरातात्विक सम्पदा (निर्माण सुरु नभएका १०० वर्षभन्दा पुराना गुम्बासमेत) को पुनःनिर्माण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पुरातत्व विभागबाट हुने गरी हस्तान्तरणको तयारी छ । सडक तथा पुल एवं केही गुम्बाको काम पनि गुम्बा व्यवस्थापन समितिको समन्वयमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय÷स्थानीय पूर्वाधार विभागबाट हुने गरी हस्तान्तरण भएको छ ।
हस्तान्तरण गर्न आयोजित कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हस्तान्तरण भएका पुनःनिर्माणका बाँकी काम सम्बन्धित निकायले निष्कर्षमा पुर्याउने बताए । सम्बन्धित कार्यालयलाई समग्र संरचना नै हस्तान्तरण गरिएको उनले सुनाए ।
हस्तान्तरणपछि सम्बन्धित निकायलाई सबल बनाउन पनि प्राधिकरणले काम गर्ने छ । हस्तान्तरण भएका कार्यक्रमको कानूनी र नीतिगत आधार पनि प्राधिकरणले नै उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।
धरहरा र सिंहदरबार पुनःनिर्माणको काम भने आगामी पुस ९ गतेसम्ममा प्राधिकरणले सक्ने भएको छ । भूकम्पपछिको पुनःनिर्माणका क्रममा विकास भएको सुरक्षित घरको प्रविधि पनि जनतामा हस्तान्तरण भएको छ । निजी आवास पुनःनिर्माणका क्रममा २५० अर्ब जनतामा बैंकिङ प्रणालीमार्फत गएको छ ।

प्रतिक्रिया