काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।
बुधबार बैठक सुरु हुनासाथ एमालेका सांसदहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सो पार्टीकी सांसद भगवती न्यौपानेलाई आफ्नो भनाइ राख्न समय उपलब्ध गराएका थिए ।
न्यौपानेले प्रतिनिधिसभाका सभामुखले आफ्नो कदम नसच्चाएसम्म बैठक चल्न नदिने बताइन् । अध्यक्ष तिमल्सिनाले पटक–पटक बस्न आग्रह गरे पनि विरोध कायमै रहेपछि कार्यसूचीमा रहेका केही विषय हटाइएको थियो ।
आजको बैठकले संविधानसभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गरेको छ । असोज ५ गते बस्ने गरी आजको बैठक स्थगित गरिएको छ । बुधबार राष्ट्रिय सभामा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अध्यागमन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची थियो ।

प्रतिक्रिया