एमालेसँग संवाद थाल्न सभामुखलाई सुझाव


काठमाडौं । राजनीतिक दलका नेताहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवाद गर्न सभामुख अग्निप्रसाद सापकोटालाई सुझाव दिएका छन् । सोमबार सभामुखले बोलाएको सर्वदलीय बैठकमा दलका शीर्ष नेताले एमालेसँग संवाद थाल्न सभामुखलाई सुझाव दिएका हुन् ।

उनीहरुले एमालेसँगको संवादपछि मात्र संसद बैठक बोलाउन सभामुखलाई आग्रह गरेका छन् । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमालेले लगातार संसद अवरुद्ध पारेपछि सभामुखले सर्वदलीय बैठक बोलाएका थिए ।

तर एमालेले बैठक बहिष्कार गरेको थियो । बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले एमालेनै बैठकमा नआएपछि कुनै निष्कर्षमा नपुगेको जानकारी दिइन् । पौडेलले एमालेसँग संवाद बढाएर सभामुखले फेरि अर्को सर्वदलीय बैठक डाक्ने बताइन्।

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले पनि बैठकबाट कुनै निष्कर्ष निस्किन नसकेको जानकारी दिए । बैठकमा प्रमुख प्रतिपक्षी एमाले अनुपस्थित नभएपछि संसदको गतिरोध हटाउनेबारे बैठकले ठोस निर्णय लिन नसकेको उनले बताए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर सहभागी थिए । माधव नेपालसहितका १४ सांसदमाथि गरिएको कारबाहीको सूचना नटाँसेको भन्दै एमालेले सभामुखको राजीनामा मागेको छ ।