महामन्त्रीमा उम्मेदवारी दिने कांग्रेस प्रवक्ता शर्माको घोषणा


काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्रीमा उमेदवारी घोषणा गरेका छन् । बिहीबार बीपी संग्रहालय सुन्दरीजल पुगेर शर्माले उमेदवारी घोषणा गरेका हुन् । उनले पार्टीलाई नयाँ ढंगले जागरण गर्न उमेद्वारी घोषणा गरेको बताए ।

 

शर्माले आफू महामन्त्री बने नेपाली कांग्रेसलाई लगातार तीन आमनिर्वाचन जिताउन भूमिका खेल्ने संकल्प पनि गरे । उनले भने, ‘विपीले देश समृद्ध बनाउने हो भने तीन पटक लगातार कांग्रेसले जित्नुपर्छ भन्नुभएको थियो। आमनिर्वाचनमा कांग्रेसले एक पटक जित्ने अर्को पटक हार्ने भएको छ ।

कांग्रेसभित्र भएका सबै साथीहरूलाई एकजुट बनाएर लगातार तीन वटा आमनिर्वाचन जिताउने  संकल्प लिएर मैले महामन्त्रीमा उम्मेदवारी घोषणा गरेको छु।’ शर्मा नेविसंघको राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन् ।

शर्मा २०७२ सालमा भएको १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य चुनिएका थिए। शर्मालाई सभापति देउवाले पार्टीको प्रवक्ता बनाएका हुन् । गगन थापाले यसअघि नै उमेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताइएको छ ।