काठमाडौँ । अमेरिकी सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विवादित विषयबारे नेपाल सरकारले सोधेका प्रश्नहरूको जवाफ पठाएको छ । सरकारले सोधेका विभिन्न ११ बुँदे प्रश्नहरुको जवाफ अमेरिकी सरकारले लिखित रुपमै फर्काएको हो ।
एमसीसीको उपाध्यक्ष फतिमा सुमारले जवाफ पठाउँदै नेपालको संविधानमाथि एमसीसी सम्झौता नरहेको बताएकी हुन् । जवाफमा भनिएको छ,‘नेपालको संविधान एमसीसी नेपाल कम्प्याक्टभन्दा माथि छ ।’
त्यस्तै एमसीसी अमेरिकी सुरक्षा नीतिसँग जोडिएको/नजोडिएकोबारे स्पष्ट गर्न आग्रह गरेको थियो । एमसीसीको सम्झौता नेपालको कानुनको अधिनमा रहने/नहरने र संसदबाटै पास गर्नुपर्ने अनिवार्यताको आवश्यक्ताबारे पनि सोधिएको थियो ।
सरकारलाई पठाएको जवाफमा एमसिसीले नेपाललाई गर्न लागेको सहयोग सैन्य क्षेत्रसँग सम्बन्धित नभएको, बिनाअवरोध निर्धारित समयमा कार्यान्वयन होस् भनेर संसदबाट पारित गर्ने व्यवस्था राखिएको, एमसिसी सम्झौताभन्दा नेपालको संविधान माथि रहेको र परियोजनाका लागि प्रयोग हुने जग्गामा नेपाल सरकारको स्वामित्व कायम हुने बताएको छ। एमसिसीको जवाफमा यो सहयोग हिन्द-प्रशान्त रणनीतिअन्तर्गत नभएको पनि उल्लेख गरिएको छ।
‘एमसिसी कम्प्याक्ट हिन्द(प्रशान्त रणनीति मातहतको सम्झौता होइन। एमसिसी कम्प्याक्टहरू एमसिसी र साझेदार सरकारबीचका सम्झौता हुन्। अमेरिका र नेपालबीचको सम्बन्ध हिन्द(प्रशान्त रणनीतिभन्दा धेरै अघिदेखिको हो,’एमसिसीको जवाफमा भनिएको छ।

प्रतिक्रिया