गठबन्धन फुटाउन प्रतिक्रियावादीहरु एमसीसी प्रयोग गर्दैछन्ः प्रचण्ड



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन तोड्ने प्रयास भइरहेको बताएका छन् ।

२२ औं सुरेश वाग्ले स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले आफूहरु यथास्थितिमा एमसीसी पास गर्न नहुने पक्षमा रहेको र अर्को पक्ष जसरी पनि पास गर्ने पक्षमा रहेकाले गठबन्धन तोड्ने प्रयास भइरहेको बताएका हुन् ।

उनले भने,‘गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको छ । संविधानको रक्षा र गणतन्त्रको रक्षाका लागि सत्ता गठबन्धन बनेको हो । एमसीसी प्रयोग गरी फुटाउन खोजिँदैछ । एमसीसी यथास्थितिमा पास हुँदैन हामीले भनेका छौं।’ अध्यक्ष प्रचण्डले पार्टीका नेता कार्यकर्ताको विचार र व्यवहार फरक परेको भन्दै आक्रोश पोखेका छन् । उनले भने, ‘अहिले हामी गलत व्यवहार र सही विचार र राजनीति भन्दा बाहिर जान लागेको हो कि भन्ने आशंका बढेको छ । हाम्रो व्यवहार संसदवाद हुँदै एमाले हुन लागेको छ । आन्दोलन भन्दा जुरुक्क उठेर सडकमा जान्छौं । फेरि सत्ताको कुरा गर्दा संसदवादतिर लाग्छौं । यो एकदमै गलत हो ।’

उनले गलत बाटो समाएर पार्टीभित्र गुट चलाउने भए एमालेमा जान नेता कार्यकर्तालाई चेतावनीसमेत दिएका छन् । उनले भने, यस्तो पार्टी चलाउनु भन्दा विघटन गर्ने भन्ने छलफल चलाऔं । गुट बनाउने, पैसा कमाउने, पदका लागि झगडा गर्ने हो भने एमालेमा गए भैगो नि । जानु भो त केही साथीहरु । उनीहरुको त सेटिङ छ । । त्यही विशेषतामा हामी जान सक्दैनौं । हाम्रो विशेषता क्रान्ति गर्ने हो, रुपान्तरण गर्ने हो । रुपान्तरणका लागि बल गर्नुपर्छ । हामीनै त्यो पार्टी हो जसले प्रतिगमनविरुद्ध नारावाजी गरेर अर्को नयाँजनयुद्ध गर्नुपर्छ भन्ने हामीहरु नै हो ।’

उनले रुपान्तरणका लागि आन्दोलनको आवश्यकता रहेको भन्दै त्यसका लागि तयार रहन आग्रह गरेका छन् । उनले भने, ‘अहिले पनि आन्दोलन गर्ने परिवर्तनका लागि, विदेशी हस्तक्षेपका विरुद्ध भन्ने हो । हामीहरुको क्रान्ति मोह जनता र देशका लागि हो । प्रतिक्रियावादीहरुको सातो पुत्लो लिने हामीहरु नै हो । पछिल्लो चोटी यो कुरा राम्रैसँग प्रमाणित पनि हो । त्यसैले साथीहरु एकपटक आत्मसमीक्षा गरौं सही बाटोमा अघि बढ्न।’ एमालेसँग एकता आत्मसमर्पणका लागि नभएको भन्दै उनले केपी ओली जस्तो गलत व्यक्तिका कारण एकता टुंगोमा नपुगेको बताए । उनले भने, ‘एकता आत्मसमर्पणका लागि थिएन । कम्युनिष्ट एकताका लागि नेपालमा कम्युनिष्ट गोलबद्ध बनाउने थियो । ३०÷४० वर्ष कम्युनिष्टले नेतृत्व गर्छ र समाजवाद ल्याउँछौं भन्ने थियो । तर धोका भयो । केपी ओली वरिपरि प्रतिक्रियवादीहरु गोलबद्ध भए र हुन दिएनन् । प्रतिक्रियावादीहरु विरुद्ध फेरि हामीले नै धावा बोल्यौं र पराजित गर्यौं ।’

उनले फेरि जनताका मुद्दा उठाएर जनता समक्ष जानुपर्ने अवस्था आएको पनि बताए । मधेसी, मुश्लिमलगायत पछाडि परेका समुदायको हक अधिकार संविधान संविधनमा नभएकाले त्यसका लागि पनि आन्दोलनमा जानुपर्ने बताएका हुन् ।

उनले भने, ‘हामीले संविधान बनाउने बेला जुन वाचा गरेका थियौं पछाडि परेका समुदायका पक्षको माग सम्बोधन गरेको छैन । त्यसका लागि पनि आन्दोलनमा जानुपर्ने अवस्था आएको छ । हामी एमाले कांग्रेस जस्तो नहुने र राष्ट्रका पक्षमा हुने हो भने यी मुद्दा लिएर शान्तिपूर्ण रुपमा जनतामा जानुपर्छ । त्यसका लागि तयार रहनुस् । संविधानमा समाजवाद उन्मुख भनेका छौं समाजवाद भन्ने तर ससदबादतिर जाँदा कसरी गन्तव्यमा जान सकिन्छ ? जरुरी पर्यो भने पार्टीहरुसँग पनि छलफल गर्छौं । संविधान संशोधन प्रस्ताव पनि गरेका हौं, हक अधिकार पहिचान स्थापित गर्न । कस्तो निर्वाचन प्रणाली कस्तो व्यवस्था चाहिने भनेर । वडाको निर्वाचनमा एक करोड चाहिने अवस्था आयो । कसरी हामी जस्ता निरीहह कार्यकर्ताले चुनाव जित्छ ? त्यति गर्दा पनि भएन भने शान्तिपूर्ण आन्दोलनको आँधीबेहरी सृजना गर्नुपर्ने अवस्था पनि आउनसक्छ । क्रान्तिकारी भित्रको फोहरमैला सफा गर्ने अभियान पनि हो विद्रोह । त्यसैले अर्को विद्रोह आवश्यक छ ।’

उनले नेता कार्यकर्तालाई पहिला आफैंलाई बदल्न तयार रहन आग्रह गरे । उनले भने, ‘पहिला आफैंलाई बदल्न तयार हो कि होइन ? अरुलाई भन्न चाहिँ सिपालु छौं भन्ने गल्ती त्यहीँ छ । अरुलाई सच्चिन सहयोग गर्ने हो गाली गर्ने होइन । हामी यो जातका मान्छे होइनौं, अर्कै जातका मान्छे हौं जात त्याग नगरौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पुँजीवादले मानिसलाई मानिस होइन, उपभोक्तामा परिणत गर्दोरहेछ

डा. युवराज संग्रौला । फ्रान्सेली चिन्तक भोल्टियरले धेरै निवन्धहरु त लेखेकै छन्, तर

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६

दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा जानकारी

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले एचफाइभ एनवान (बर्डफ्लु भाइरस) सङ्क्रमित जनावरको कच्चा दूधमा

आजदेखि एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक

काठमाडौं । नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक आजदेखि ललितपुरमा हुँदैछ