कांग्रेस नेता कल्याण गुरुङद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा


काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी गुरुङले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आफू युवाहरूको साझा उम्मेदवार भएको दाबीसमेत गरेका छन्।

गुरूङ नेविसंघका पूर्वसभापति समेत हुन्। उनले एक व्यक्ति एक पदमा दुई पटकसम्म मात्र रहन पाउने आफ्नो एजेण्डा भएको बताए । एउटा व्यक्ति समानुपातिकतर्फ एक पटक मात्र सांसद हुन पाउने, मन्त्री र प्रधानमन्त्री पनि दुई पटक मात्र हुन पाउने व्यवस्था संविधानमा नै गर्न पहल गर्ने उनले बताएका छन् ।

यसअघि सोमबार कांग्रेस नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका थिए । त्यस्तै पार्टी उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् । त्यसका लागि उनले सम्पर्क कार्यालयसमेत खोलिसकेका छन् ।