‘जयसिंह धामी वेपत्ता घटनामा द्रौपदीको वस्त्रहरण भएको सभामा भीष्म, द्रोणाचार्यको जस्तो मौनता भयो ‘


काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले तुइन चुँडाएर नागरिक मारिदा पनि राज्य संयन्त्र वाणीशून्य भएको भन्दै आपत्ति जनाएका छन् । दार्चुलाका जयसिंह धामी वेपत्ता प्रकरणको छानबिनका लागि गठित समितिले सरकारलाई प्रतिवेदन बुझाएको भोलिपल्ट भण्डारीले सामाजिक संजालमार्फत आपत्ति जनाएका हुन्।

उनले राज्य संयन्त्र मौन बस्नुले जयसिंह धामीले न्याय पाउने सम्भावना नरहेको पनि उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘जयसिंह धामी ! तिमीले न्याय पाउने दिन गए मानवतावादी कृतघ्न र मृतहरूको मुखमा मानवतावाद ! द्रौपदीको वस्त्रहरण भएको सभामा भीष्म, द्रोणाचार्य, कृपाचार्य र नीति निपूण विदुरको जस्तो मौनता भयो हाम्रो !! नेपाली सन्तानलाई तुइन चुँडाएर मारिएको छ , तर राज्य संयन्त्र वाणीशून्य भएको छ ,अरु नेता त बोल्न नै हुदैन किनकी राजनीति बिग्रिन्छ !!! गजव छ भारतीय मानवता र न्याय साथै नेपाली राजनीति ! अद्भुत छ मेरो देश, तथापी पुनः सरकारलाई कुटनीति पहल र बोल्नको लागी आग्रह । धन्य छ विश्व मानवतावादको मौंनता !!!’

दार्चुलाको ब्याँस गाउँपालिका–२ खाङदाङ मालका जयसिंह धामी मालघाटबाट तुइनको प्रयोग गरी भारत हुँदै सदरमुकाम खलंगा आउने क्रममा महाकालीमा बेपत्ता भएका थिए । उनी अझै फेला परेका छैनन् ।

साउन १५ गते भएको घटना छानबिनका लागि गृह मन्त्रालयले १७ गते ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिले मंगलबार प्रतिवेदन बुझाएको छ । समितिले भारतीय एसएसबीकै उपस्थितिमा घटेको देखिएकाले निजहरुको संलग्नता सम्बन्धमा अनुसन्धान गरी दोषी उपर कानुनी कारबाही गर्न सिफारिस गरेको छ।