महन्थ ठाकुरको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश


काठमाडौं । निर्वाचन आयोग विरुद्ध महन्थ ठाकुरले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सोमबार न्यायाधीश दीपक कुमार कार्की र डा.आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो ।

यससँगै उपेन्द्र यादव पक्षलाई जसपाको आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय कायमै रहेको छ । जनता समाजवादी पार्टीमा विवाद भएपछि उपेन्द्र यादव पक्षले पार्टीमा आधिकारिकताको दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको थियो ।

आयोगले साउन ११ गते सबै केन्द्रीय सदस्यलाई बोलाएर सनाखत गर्दा ५१ सदस्यीय कार्यकारिणी समितिका ३४ जनाले उपेन्द्र यादव पक्षलाई समर्थन गरेका थिए भने महन्थ ठाकुर पक्षमा १६ जना देखिएका थिए ।

बहुमत सदस्यले समर्थन गरेपछि आयोगले जनता समाजवादी पार्टीको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो भने महन्थ ठाकुर पक्षले कानुन अनुसार अर्को दल खोल्न सक्ने निर्णय गरेको थियो ।

आयोगको उक्त निर्णयविरुद्ध ठाकुरले सर्वोच्च अदालतमा रिट दिएका थिए र आयोगको निर्णय कार्यान्वयन रोक्न अन्तरिम आदेश माग गरेका थिए । तर सर्वोच्च अदालतले आयोगको निर्णयले निवेदकलाई तत्कालै अपूरणीय क्षति पुग्ने नदेखिएको भन्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।