शिर निहुराएर कसैको टाङमुनि छिर्दैनौंः माधव नेपाल
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहंकारीहरुलाई माथ गरेर अगाडि बढ्ने बताएका छन् । मंगलबार काठमाडौमा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता नेपालले शिर निहुराएर कसैको टाङमुनि नछिर्ने बताएका हुन् ।
उनले राजनीतिमा चुनौतिका पहाड आउन सक्ने भएकाले तिनलाई सामना गर्नुपर्ने बताए । ओलीतर्फ संकेत गर्दै उनले भने, ‘शिर निहुराउने छैनौ, कसैको टाङमुनि छिर्ने छैनौं । अहंकारीलाई माथ गरेरै अगाडि बढ्नेछौं । कायर र डरपोकको सम्मान हुँदैन । विनम्र भएर न्यायको बाटोमा निरन्तर रुपमा अगाडि बढ्नु पर्छ ।’
उनले बेइमानीले लाभ नगर्ने र धोका कहिल्यै दिन नहुने बताए । उनले पार्टीले कारबाही गरेका कर्णालीका चार सांसदलाई चिन्ता नलिन आग्रह गरे । उनले भने, ‘तपाइँहरुको सदस्यता धरापमा छ भने उपनिर्वाचनमा जिताएर ल्याउने जिम्मेवारी मेरो हुनेछ । तपाइँहरुले कुनै चिन्ता लिनु पर्दैन ।’
उनले पार्टीका नेता कार्यकर्तालाई न्यायपूर्ण समाज निर्माणमा लाग्न आग्रह गरे । उनले भने, ‘मनमोहन अधिकारीले भन्नुहुन्थ्यो यो संसारमा मलाई सबैले राम्रो भनिदिए हुन्थ्यो । असल मानिस हुन इमान्दारिता नै चाहिन्छ । मानव जीवननै अरुको सेवाका लागि हो । पवित्र राजनीति गर्नुपर्छ । कम्युनिष्टहरु न्यायपूर्ण समाज स्थापना गर्न चाहन्छौं । हो मनमोहनले भने जस्तै इमान्दारितालाई कसैले पनि छाड्नु हुँदैन ।’