असोज मसान्तसम्म २ करोड डोज खोप नेपाल आउने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् । सोमबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गरेका हुन् । श्रेष्ठलाई प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नियुक्त गरेका थिए ।
श्रेष्ठले स्वास्थ्य, शिक्षा, कृषि तथा जलविद्युतलगायत क्षेत्रमा लगानी गरेका छन् । उनले आफू राज्यमन्त्री हुन्जेल ती संघसंस्थाबाट अलग रहेको पनि बताए । व्यापारीसमेत रहेका सांसद श्रेष्ठलाई मन्त्री बनाएकोमा पार्टीभित्र र बाहिर पनि प्रधानमन्त्री देउवाको आलोचना भएको थियो ।
राज्यमन्त्री श्रेष्ठले १ करोड ५० लाख डोज खोपको खरिद सम्झौता भइसकेको भन्दै असोज मसान्तसम्म २ करोड डोज खोप नेपाल आउने बताए । मोडर्ना ४० लाख डोज, ५० लाख डोज जोनसन, ४० लाख फाइजर र २० लाख डोज एस्ट्राजेनेका खोपको खरिद प्रक्रिया अघि बढाइएको उनले बताए । कोभ्याक्सबाट १ करोड १३ लाख, कोभ्याक्सकै लागतमा १ करोड ५० लाख खोप ल्याउने जसमध्ये ४० लाख डोज खोपको भुक्तानी भइसकेको उनले बताए।