काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीका दुबै पक्षलाई साउन ११ गते आयोगमा बोलाएको छ । आयोगले कार्यकारिणी समितिका सदस्यलाई उपस्थित हुन भनेको हो ।
पार्टीको आधिकारिकता दाबी सम्बन्धमा दुवै पक्षका कानुन व्यवसायीको बहस सुनिसकेपछि आयोगले पार्टी एकीकरणको समय बनेको कार्यकारिणी समितिका सबै सदस्यलाई नागरिकता प्रमाणपत्रसहित साउन ११ गते आयोगमा उपस्थित हुन भनेको हो ।
तत्कालीन समाजवादी पार्टी र राजपा नेपालबीच एकीकरणपछि बनेको जसपा नेपालमा ५१ सदस्यीय कार्यकारिणी समिति बनाइएको थियो । तर महन्थ ठाकुरले गत पुस ७ गतेको बैठकले आफूलाई अधिकार दिएको भन्दै कार्यकारिणी समितिमा हेरफेर गरेका थिए । आयोगले ठाकुरद्वारा हेरफेर गरिएको कार्यकारिणी समितिलाई भने मान्यता दिएको छैन ।
आयोगले पार्टी एकतापछि बनेको ५१ सदस्यीय कार्यकारिणी समितिका सदस्यलाई सनाखतका लागि बोलाएको हो । ५१ सदस्यीय कार्यकारिणी समितिमा उपेन्द्र यादव पक्षले आफ्नो बहुमत रहेको दाबी गर्दै आएको छ । यादव पक्षले कार्यकारिणी समितिमा आफ्ना पक्षका ३१ जना सदस्य रहेको दाबी गरेको छ ।

प्रतिक्रिया