संवैधानिक नियुक्ति खारेजीको मागसहित सर्वोच्चमा पुरक निवेदन
काठमाडौं । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा अध्यादेश जारी गरी नियुक्त भएका विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई हटाउन माग गर्दै सर्वोच्चमा पूरक निवेदन दर्ता भएको छ ।
अधिवक्ता ओमप्रकाश अर्यालले मंसिर ३० र वैशाख २६ गते सिफारिस भइ नियुक्त भएका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुलाई हटाउन माग गर्दै निवेदन दिएका हुन् ।
२०७७ मंसिर ३० मा राष्ट्रपतिबाट जारी भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७, सो बमोजिम संवैधानिक परिषद्ले गरेका नियुक्ति सिफारिस तथा नियुक्ति सम्बन्धी अन्य कार्यहरु समेत उत्प्रेषणको आदेशले बदर हुनुपर्ने उनको निवेदनमा माग गरिएको छ । ओली सरकारले जारी गरेको अध्यादेश प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले खारेज गरेकाले यी सबै नियुक्तिले वैधानिकता गुमाएको निवेदनमा जिकिर गरिएको छ । अर्यालले २०७७ पुस १ गते अध्यादेशविरुद्ध पहिलो रिट दायर गरेका थिए। अध्यादेश जारी भएको केही दिन पछि विभिन्न संवैधानिक निकायका रिक्त पदमा ३८ जना व्यक्तिको नाम सिफारिस भएको सार्वजनिक भएको थियो। सिफारिस भएका व्यक्ति मध्ये ३२ जनाले संसदीय सुनुवाइ विनै २०७७ माघ २१ मा नियुक्ति लिएका थिए ।
नियुक्ति लिनेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राई, आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्द, निर्वाचन आयोगको आयुक्त रामप्रसाद भण्डारी र डा. जानकी तुलाधर, राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष तपबहादुर मगर तथा सदस्यहरु डा. सूर्यप्रसाद ढुंगेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिली बस्न्यात, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा जुद्ध बहादुर गुरुङ र अमरराज मिश्र, राष्ट्रिय महिला आयोगको अध्यक्षमा कमला कुमारी पराजुली तथा सदस्यमा कृष्ण कुमारी पौडेल र विद्याकुमारी सिन्हा छन् ।
यस्तै, राष्ट्रिय दलित आयोगको अध्यक्षमा देवराज विश्वकर्मा, सदस्यमा मीनादेवी सोव, टुन्जे कामी र मेहले पार्की, राष्ट्रिय समावेशी आयोगको सदस्यमा रामचन्द्र जोशी र हरीदत्त जोशी, आदिवासी जनजाति आयोगको अध्यक्षमा रामबहादुर थापामगर तथा सदस्यमा डा.मीन बहादुर श्रीस, रीना राना र शरण राई, मधेशी आयोगको सदस्यमा जीवछ साह, रेणुदेवी साहर, विजय कुमार गुप्ता, थारु आयोगको सदस्यमा सुवोध सिंह थारु र भोलाराम चौधरी, मुस्लिम आयोगको सदस्यमा महमदिन अलि र मिर्जा अर्सद वेग नियुक्त भएका थिए । अर्यालको पुरक रिट निवेदनमा उनीहरुको नियुक्ति असंवैधानिक भएकाले खारेज हुनुपर्ने जिकिर गरिएको छ ।
दोस्रो पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तमा डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ (ब्यान्जू), लोक सेवा आयोगको अध्यक्षमा माधव प्रसाद रेग्मी, सदस्यमा माधव वेल्वासे, वीर बहादुर राई, दिनेश सिलवाल, मञ्जु कुमारी, निर्वाचन आयुक्तमा सगुन शम्शेर जबरा, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सदस्यमा विपीनराज निरौला, राष्ट्रिय महिला आयोगको सदस्यमा जया घिमिरे, सावित्रा कुमारी शर्मा, सुन्दर पुर्कुटी, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा डा. रामकृष्ण तिमल्सेना तथा सदस्यमा पुष्पराज तिमिल्सिना र मानप्रसाद खत्री, आदिवासी जनजाति आयोगको सदस्यमा सूर्य बहादुर गुरुङ, मधेशी आयोगको सदस्यमा आभा कुमारी, थारु आयोगको सदस्यमा डा. उमाशंकर प्रसाद चौधरी र शान्ती मोदी र मुस्लिम आयोगको सदस्यमा मोहम्मद समशुल हक नियुक्त भएका थिए।