न्याय पाउने ठाउँबाट अन्याय भयोः अध्यक्ष ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठक रोक्न माधवकुमार नेपाल पक्षले गरेको आग्रह अस्वीकार गरेका छन् । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बसिरहेको स्थायी कमिटी बैठक रोक्न नेपाल पक्षका नेताहरुले गरेको आग्रह अध्यक्ष ओलीले अस्वीकार गरेका हुन् ।

पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधव नेपाल पक्षका नेताहरु च्यासलमा पुगेर बैठक रोक्न आग्रह गरेका थिए । तर ओलीले अस्वीकार गरेका छन् ।

बैठक रोक्न आग्रह गर्दै उपाध्यक्ष डा. भीम रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य बैठक स्थल पुगेका थिए । तर अध्यक्ष ओलीले अस्वीकार गरेपछि उनीहरु फर्किएका थिए । बैठकमा माधव नेपाल पक्ष अनुपस्थित रहेको छ । त्यस्तै, केन्द्रीय कमिटी बैठकमा उपस्थित भएका पार्टी उपाध्यक्ष वामदेव गौतम पनि बैठकमा सहभागी छैनन् ।

यसैबीच, ओलीले राजनीतिलाई गति दिन आफूहरूको रचनात्मक र सक्रिय भूमिका हुने बताएका छन् । स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले अब पार्टीका नीति तथा कार्यक्रम लिएर जनतामा गई व्यापक समर्थन प्राप्त गर्ने जनाए । जनताको समर्थनबाट बनेको सरकार सर्वोच्चको परमादेशका कारण ढलेको भन्दै ओलीले न्याय पाउने ठाउँबाट अन्याय भएको बताए ।