चितवन मेडिकल कलेजमा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण
चितवन । चितवन मेडिकल कलेज (सीएमसी) मा दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण भएको छ । सीएमसीमा १८ असारका दिन दोस्रो पटक कलेजोको सफल प्रत्यारोपण भएको हो ।
सीएमसीले यसअघि ८ चैतमा पहिलो कलेजो प्रत्यारोपण गरेको थियो । सीएमसीका अनुसार कुशे गाँउपालिका ९ जाजरकोटका ४७ वर्षीय भरतबिक्रम शाहीको १५ घण्टा लगाएर कलेजो प्रत्यारोपण गरिएको हो ।
शाहीलाई उनकी ४८ वर्षीया श्रीमती कमलादेवी शाहीले कलेजो दान गरेकी थिइन् । प्रत्यारोपणमा कलेजका विशेषज्ञ शल्यचिकित्सकहरु सर्जन डा सञ्जयकुमार यादव, डा एकानन्द सिंह, डा जयन्तकुमार साह, हेपाटोलोजी डा सागर पौडेल, डा बरुण श्रेष्ठ, एनेस्थेसिया तथा क्रिटिकल कियरमा डा किरण अधिकारी, डा नविन यादव, डा सुरेश गौतम डा विरेन्द्र राउत, रेडियोलोजोष्टि डा दिपक अधिकारी, डा सुवास ओझा सहभागी थिए ।
यस्तै स्टाफ नर्स कमला क्षेत्री, प्रियंका पौडेल, सलिना तिवारी, सुमि कार्की, बर्षा लोहनी, प्रतिमा रेग्मी, अस्मिता भण्डारी, सुदिपा देवकोटा, कृति चौधरी, अञ्जु थापा, श्रुति यादव, नितु बस्नेत, सुष्मा भुजेल। अनिता भण्डारी लगायतको टिम सहभागी थियो । प्रत्यरोपणमा भारतबाट आएको डा निरभ गोयलको टिम समेत सहभागिता थियो ।
प्रत्यारोपणका लागि श्रीमती शाहीको ६० प्रतिशत कलेजो उनको श्रीमानमा ट्रान्सप्लान्ट गरिएको डा एकानन्द सिंहले जानकारी दिए । अंगदाता श्रीमती शाहीको स्वास्थ्यमा सुधार भएपछि २७ असारमै डिस्चार्ज गरिएको समेत उनले बताए । प्रत्यारोपण गरिएको कलेजो र प्रत्यारोपणका लागि काटिएको कलेजो आगामी दुई तीन महिना भित्र बृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाउने समेत डा सिंहले बताए ।