प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णय सर्वोच्चद्वारा बदर, देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश


काठमाडौँ । प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ । पाँच सदस्यीय संवैधानिक इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो ।  सर्वोच्चको यो आदेशसँगै प्रतिनिधिसभा पुनःस्थापित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमोजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गरेको छ । फैसलामा देउवालाई असार २९ गते साँझ ५ बजेसम्म प्रधानमन्त्री नियुक्त गर्न भनिएको छ ।

फैसला सुनाउँदै प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले ‘एकमतले निर्णय भएको र मागबमोजिम आदेश जारी गरको बताए । सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश जारी गरेको छ । सर्वोच्चले साउन ३ गते साँझ ५ बजेभित्र संसद बैठक बोलाउन आदेश दिएको हो ।