प्रहरी महानिरीक्षकद्वारा एआइजी थापालाई दर्ज्यानी चिन्ह प्रदान
काठमाडौं । प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन् ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका हुन् ।
समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई बधाई दिँदै पदोन्नतिसँगै बढेको दायित्व र जिम्मेवारीलाई प्रतिबद्वता अनुरूप नयाँ उर्जाकासाथ निर्वाह गर्न निर्देशन दिए ।
संगठनको थप सुदृढिकरण र विकासका लागि व्यावसायिकता र पेशागत धर्ममा रही हरेक कार्यलाई सहजरूपमा लिदै स्वमूल्याङ्कन गरी पूर्ण निष्ठाका साथ अगाडि बढ्नुपर्ने उनले बताए । पदन्नोतिमा परिवारको पनि साथ सहयोग हुने भएकोले आफ्नो प्रगतिलाई परिवारमा समर्पण गर्नुपर्ने उनले उल्लेख गरे ।
समारोहमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक थापाले नेपाल सरकार एवम् प्रहरी संगठनबाट प्राप्त गहन जिम्मेवारीलाई मन, वचन र कर्मका साथ संगठनको उद्देश्य प्राप्तिका खातिर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । आफू बोलाई भन्दा गराईमा विश्वास गर्ने भएकाले आफ्नो बुद्धि, विवेक र ईमानदारिताका साथ संगठनको श्रीवृद्धिमा लाग्ने उनले बताए ।